सर्लाहीको मलंगवास्थित सोनवर्सा नाकाबाट नेपाल प्रवेश गर्न खोजेका १ सय ९४ जनालाई सुरक्षाकर्मीले रोकेका छन्।
मुख्य नाका बन्द भएपछि चोरबाटो भएर बिहीबार बिहान नेपाल प्रवेश गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।
उनीहरुलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले रोकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए। प्रजिअ जिसीका अनुसार २७ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी क्वारेन्टिनमा राखेका छन्।
स्थानीयका अनुसार १ सय ९४ जनाको संख्यामा चोरबाटो हुँदै उनीहरु नेपाल प्रवेश गर्न खोजेका थिए। अन्य भारततर्फ नै फर्केर लुकेर बसेको हुन सक्ने प्रजिअ जिसीको भनाइ छ।
‘मुख्य नाकामा रोकेपछि चोरबाट हुँदै नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गरी सीमा क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ’, प्रजिअ जिसीले नेपालखबरसँग भने।
सर्लाहीमा नेपाल भारतको ५१ किलोमिटर खुल्ला सीमा रहेको छ। त्यही खुला सीमाको फाइदा उठाउँदै ती नागरिकहरु नेपाल भित्रिन खोजेका थिए।
प्रतिक्रिया