ad ad

समाज


आफ्नै स्वास्थ्यमा किन यस्तो बेपर्वाह?

आफ्नै स्वास्थ्यमा किन यस्तो बेपर्वाह?

नारायण ढुंगाना
चैत १३, २०७६ बिहिबार १२:४२,

यहाँको कालिकास्थान–मैतिदेवीको भित्री सडकमा बुधबार साँझ मानिसको भिड बाक्लो थियो। कतिपय मानिस खाद्याह्न र तरकारी खरिदमा झुम्मिएका थिए। कतिपय रमाइलो हेर्न आएका थिए।

‘कस्तो हुँदो रहेछ बन्द भनेर निस्केको पुरै ठप्पै रहेछ’, युवा आपसमा कुरा साट्दै थिए। समुह–समुहमा मानिसको जमघट थियो। कोठा भित्र बस्दा वाक्क लागेर बाहिरी अवस्था हेर्न निसिकएका भन्नेहरु पनि भेटिए। दिनभर सुरक्षा अवस्था चुस्त देखिए पनि साँझ सडकमा सवारीको चाप केही बढेको पाइन्थ्यो।

उपचार विधि पत्ता नलागेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अहिले विश्व प्रभावित बनाएका बेला नेपालमा हुने सम्भावित जोखिम रोक्ने उद्देश्यले सरकारले यही चैत ११ गतेबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको थियो।

उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म लागू हुनेछ, तर त्यसलाई वास्ता नगर्ने प्रवृत्ति देखिएको छ। सरकारको उद्देश्य कोही मानिस एक अर्कासँग सम्पर्कमा जान नपाओस् भन्ने हो। जसका कारण एक व्यक्तिबाट अर्कोमा रोग सर्न पाउँदैन। सानो कमजोरीले पनि स्थिति भयावह हुनसक्न भन्नेतर्फ आफैँ सचेत हुनुपर्छ। पूर्ण कार्यान्वयमा कतै न कतै कमजोरी भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा महामारीको रुप लिँदै गएको कोभिड–१९ एउटा सरुवा रोग भएकै कारण मानिसमा सजिलै फैलन्छ। त्यसैले नेपालमा रोग फैलनु अघि नै सावधानी अपनाउन सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको हो। तर, सर्वसाधारणले यसलाई गम्भीरतापूर्वक लिएको पाइएको छैन। यस्तो समस्या जिल्ला जिल्लामा देख्न सकिन्छ। सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरु सार्वजनिक भइरहेका छन्।

मूल सडक र शहरमा सरकारी आदेशको पालना प्रभावकारी देखिए पनि भित्रि बजार र सडकका छिटफुट बेपर्वाहले आम मुलुकलाई नै प्रभावित गर्न सक्न भन्नेतर्फ हेक्का कम देखिएको छ। आफ्नै स्वास्थ्यमा पनि किन यस्तो बेपर्वाह? गम्भीर प्रश्न खडा भएको छ।

सरकारको मात्रै भर पर्नुभन्दा पनि सरकारलाई सहयोग गर्नु आम नागरिकको कर्तव्य हो, फेरि यो आफ्नै स्वास्थ्यका लागि हो भनेर हामी आफैँ सचेत हुनुपर्छ भन्ने चेत मानिसमा आउनुपर्छ भन्छन्, मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना। उनी मानिसमा कुनै नयाँ कुरा जान्ने इच्छा चाहनाभन्दा अहिलेको अवस्था फरक रहेकाले आफूले आफैँलाई सम्हाल्नुपर्ने बताउँछन्।

डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकको सूचिमा राखिसकेको छ। त्यसैलाई मध्यनजर गरी नेपाल सरकारले अहिले मुलुकलाई लकडाउनकै स्थितिमा राखेर अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ।

आज तेस्रो दिन हुँदा पनि सरकारको आदेश मूल सडकमा पूर्ण कार्यान्वयन भए पनि भित्री भागमा भने त्यस्तो देखिँदैन। यातायातका साधनमा हिाडेकालाई प्रहरीले पक्राउ गरेर छाड्ने गरेका भए पनि अनावश्यक रुपमा पैदल हिँड्नेको हकमा प्रहरीको समेत चासो कम पर्ने गरेको छ। साँझको समयमा भित्री सडक र बजारमा मानिसको उपस्थिति बाक्लै देखिन्छ।

विश्वबाट सिक्ने कि?
गएको डिसेम्बर ३१ मा पहिलो पटक चीनको उहानबाट शुरु भएको कोभिड–१९ को सङक्रमण यूरोप अमेरिका हुँदै विश्वका १९८ मुलुकमा फैलिसेको छ। छिमेकी मुलुक चीन र भारतमा कोरोनाका कारण मानिसको मृत्य समेत भइसकेको वर्तमान अवस्थामा नेपालले आजको मितिसम्म त्यो स्थिति व्यहोर्नुपरेको छैन। तीन जनामा भाइरस सङ्क्रमण भएको पाइएको छ। तीनै जना विदेशबाट आएका हुन्।

यस हिसाबले नेपालमै बसेकामा अहिलेसम्म सङ्क्रमण नदेखिनु सकारात्मक हो। कथम्कदाचित हामीले यसैगरी बेपरवाह ग-र्यौँ भने स्थिति परिवर्तन हुन सक्नेतर्फ बेलैमा ध्यानदिन आग्रह गर्छन्, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ।

इटली र स्पेनमा कोभिड–१९ कै कारण केही दिन अघिसम्म दैनिक सयौँ व्यक्तिको मृत्यु भएको विवरण छ। इटालीमा सरकार होस् या नागरिकले बेलैमा सावधानी नअपनाउँदा स्थिति भयावह बन्न पुगेको समाचार आइरहेका छन्। चीनले तत्कालै सम्बन्धित प्रान्तलाई लकडाउन गर्दा उसले क्षति कम बेहोर्नुप¥यो। त्यसैको पाठ सिकेर नेपाल सरकारले पूर्व सावधानी स्वरुप अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको हो। विश्वाका धेरै मुलुक अहिले यही प्रक्रिया अपनाइरहेका छन्।

भारतले आफ्नो मुलुकलाई २१ दिनको लकडाउन गरिसकेको छ। अष्ट्रेलया, जोर्डनलगायत देशले पनि त्यसलाई कडाइका साथ लागू गरेको छ। दक्षिण अफ्रिकाले पनि सोही विधि अपनाइएको छ। अन्य मुलुक पनि लकडाउनको अभ्यास गरिरहेका छन्। अहिले विश्व नै लकडाउनको स्थितिमा छ भन्दा पनि हुन्छ।

आज प्राप्त विवरण अनुसार विश्वका १९८ मुलुकमा झण्डै पाँच लाख मानिस उक्त रोगबाट प्रभावित भइसकेका छन्। त्यसमध्ये २१ हजार ३०० बढीको मृत्यु भइसकेको छ। एक लाख १४ हजार उपचारपछि फर्किसकेका छन्। चीनमा अहिलेसम्म तीन हजार २८७ जनाको मृत्यु भएको छ। त्यसको दोब्बर बढी इटलीमा सात हजार ५०० को निधन भइसकेको छ। स्पेनमा तीन हजार ६०० को ज्यान गईसकेको छ। अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको संख्या एक हजार नाघिसकेको छ।

यस्तो छ मनोविद्को टिप्स
मनोविद् पदमराज जोशी सञ्चारमाध्यामले पनि यस्तो अवस्थामा सकारातमक सन्देशलाई प्रथमिकता दिनुपर्ने बताउँछन्। सामाजिक सञ्जालमा राख्ने विषयहरु समेत छनोट गरेर सकारात्मक दृष्टिकोणबाट राख्नुपर्नेमा उनको सुझाव छ।

उहाँका अनुसार हरेकले अन्य व्यक्तिको मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्छ। कोरोना विरुद्धको एउटा उपचारात्मक विधि घर मै रहनु हो। आत्मबल बलियो बनाउनुपर्छ । फेसबुक वा अरु सञ्जालमा घरीघरी नकारात्मक सूचना प्रवाहित गर्नुहुँदैन, त्यस्तो गर्दा अरुको पनि आत्मबलमा ह्रास आउन सक्छ।

विपद्का बेलामा आत्तिनु हुँदैन। यो कम्जोर भाइरस हो भनेर केवल आफ्नो भावना र व्यवहारलाई नियन्त्रण गर्नुपर्छ। खानपिनमा अरु बेला जस्तै ब्यस्त रहनुपर्छ। गीत सङ्गीतमा रमाउउँदै आफू र परिवारलाई व्यस्त बनाउनुपर्छ। बालबालिकाका लागि उमेर पुगेका आफ्ना आमाबाबुलाई सेवा र सत्सङ्ग गर्ने यो उपयुक्त समय पनि हो। परिवारमा रमाइलो वातावरण बनाउनुपर्छ, ता की सबै खुशी हुन पाओस्।

जोशी थथप्छन्, ‘आफूलाई व्यस्त राख्न विभिन्न आन्तरिक उपाय निकाल्नुहोस् र रमाइलो लिनुस्, नियमित व्यायाम, अभ्यास, योगा ध्यान गर्नुहोस, तालिम प्राप्त व्यक्ति, मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकसँग परामर्श लनुहोस्।’

उनले धैर्यता र आत्मबल बढाउने काम गर्न तथा घरभित्रै खेलिने खेलमा रमाउँदै साबधानी अपनाउनु सुझाव दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .