ad ad

समाज


अब थपिने कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखिने

अब थपिने कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखिने

नेपालखबर
चैत ११, २०७६ मंगलबार १०:११,

सरकारले नयाँ कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै अरुसँग मिसाउने भएको छ। कारागारभित्र कोरोना संक्रमण नफैलियोस् भनेर यस्तो व्यवस्था गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए।

यसका लागि हरेक कारागारमा क्वारेन्टिन तयार गर्न थालिएको छ। कारागारभित्रै टेन्ट गाडेर क्वारेन्टिन बनाउन थालिएको हो। केन्द्रीय कारागार सुनधारामा चार वटा टेन्ट तयार गरिसकिएको छ।

सुनसरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा र केन्द्रीय कारागारमा रेडक्रसको सहयोगमा क्वारेन्टिन तयार गरिएको हो। सुर्खेतमा पनि क्वारेन्टिन तयार गरिसकेको विभागले जनाएको छ। सुर्खेत कारागारमा तयार भइसकेको जानकारी आएको र अरु कारागारले पनि बनाइरहेको महानिर्देशक कणेलले बताए।

नक्खु कारागारभित्रको अस्पतालमा २० जनालाई आइसोलेट गर्न मिल्ने विभागले जनाएको छ। त्यहाँ आवश्यक स्वास्थ्यकर्मी र उपकरण माग गरिएको छ।

केन्द्रीय कारागारभित्रको अस्पतालमा पनि आइसोलेसन वार्ड बनाइएको छ। अब थपिने कैदीबन्दीलाई क्वारेन्टिनमा राखेर स्वस्थ भएमात्रै भित्रका कैदीसँग मिसाइने छ।

सरकारले कैदीको संख्या घटाउने र भएका कैदीलाई व्यवस्थापन गर्ने तयारी एकसाथ अगाडि बढाएको छ। सोमबारबाट सरकारले अभद्र व्यवहार र एक वर्षभन्दा कम सजाय भएका कैदीहरुलाई छाड्न थालेको हो।

मंगलबार सुनसरीको झुम्का कारागारबाट ४० जना छुटेका छन्। अभद्र व्यवहारमा जिल्ला प्रशासनको आदेशमा थुनामा पठाइएकाहरुलाई छाडिएको हो।

यसअघि ललितपुरको नक्खु कारागारका ११ जना र सुन्धारा कारागारबाट १५ जना छाडिएको छ। अन्य कारागारमा रहेका कैदीबन्दी पनि छाडिरहेको र रिपोर्ट आउन बाँकी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .