ad ad

समाज


कोरोना रोक्न तीनै तहको यस्तो तयारीः नाका ठप्प पार्नेदेखि तत्काल आइसोलेसन

कोरोना रोक्न तीनै तहको यस्तो तयारीः नाका ठप्प पार्नेदेखि तत्काल आइसोलेसन

सागर न्यौपाने
चैत २, २०७६ आइतबार १४:४८,

नेपालमा कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिनेगरी तीनै तहका सरकारले विशेष तयारी तीव्र पार्ने भएका छन्।

आइतबार सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री तथा स्थानीय तहका प्रतिनिधि लगायतसँग संघीय सरकारले छलफल गरी सो निर्णय गरेको हो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफलको आयोजना गरेको हो।

छलफलमा देशमा कोरोना प्रवेश गर्नै नदिने गरी तयारी गर्ने निर्णय भएको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले नेपालखबरसँग भने।

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत सहभागी छलफल ४ घण्टा चलेको थियो।

‘नेपालमा कोभिड–१९ प्रवेश गर्न नदिन कडारुपमा तीनै तहका सरकार क्रियाशील हुने निर्णय भएको छ,’ मन्त्री दुलालले नेपालखबरसँग भने, ‘भारतसँगको सीमामा निगरानी बढाउनेदेखि नाका नै बन्द गरेर जाने समेत निर्णय भएको छ। नाका बन्द गर्दा भारतको सहमति लिइनेछ।’

यसैगरी अन्तर्राष्ट्रिय उडानमा पनि कडाइ गर्ने र कोभिड भित्रिने खतरा बढ्न थाले उडान ठप्प पार्ने सरकारको तयारी छ।

नेपालमा अहिलेसम्म भाइरस नभित्रिएको विश्लेषण गर्दै बैठकले यदि संक्रमण भएको पाइएमा त्यस्तो अवस्थामा संक्रमितलाई कडाइका साथ उपचारमा पठाउनेदेखि अन्य अत्यावश्यक विषयमा उच्च सतर्कतामा बस्ने निर्णय गरेको मन्त्री दुलालले बताए।

बैठकमा सबै प्रदेशमा रहेका ५० प्रतिशत स्वास्थ्य संस्थामा आइसोलेसन वार्डलाई तयारी अवस्थामा राखिएको जानकारी दिइएको थियो।

त्यसैगरी क्वारेन्टाइनको विषयमा व्यक्ति स्वयं र सरकारले गर्ने व्यवस्थापनका विषयमा पनि सहमति बनेको मन्त्री दुलालले जानकारी दिए।

निर्णय भएका विषयलाई सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सार्वजनिक गर्ने बताइएको छ।

तीनवटै तहका सरकारले स्वास्थ्य संस्थामा कोभिड–१९को उपचार गर्न आवश्यक पर्ने उपकरणहरु पर्याप्त मात्रामा व्यवस्था गर्ने निर्णय भएको उनले जानकारी दिए।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्ने खाद्यान्न र ग्यास रहेको जानकारी गराएका थिए।

‘खाद्यान्न लगायतका आपूर्तिमा कुनै कमी भएको छैन। पर्याप्त मात्रामा भण्डारण गरेर राखेका छौं। ग्यास, खाद्यान्नलगायत आवश्यक वस्तुहरुको भण्डार अझै थप गर्दैछौं।’

आफूले स्थलगत अनुगमन गर्दा आवश्यक खाद्यान्नको राम्रै भण्डारण रहेको मन्त्री भट्टको भनाई उद्धृत गर्दै मन्त्री दुलालले बताए।

७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब
सातैवटा प्रदेशमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने ल्याब बनाइने भएको छ। प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशमै कोरोना परीक्षण गर्नको लागि ल्याब बनाउनुपर्ने प्रस्ताव गरेपछि ७ वटै प्रदेशले त्यहाँका अस्पतालमा अत्याधुनिक ल्याब बनाउने निर्णय भएको हो।

‘कोरोना प्रवेश भइहाले परीक्षण गर्न ७ वटै प्रदेशमा ल्याब राखिने छ, विश्व स्वास्थ्य संगठनले दिएको मापदण्डका आधारमा अन्तर्राष्ट्रिय सहयोग अन्तर्गत ल्याब स्तरोन्नति प्रक्रिया तत्काल सुरु गर्ने निर्णय भएको छ,’ दुलालले भने।

सबै प्रदेशमा २ अस्पताल तयारी अवस्थामा
हरेक प्रदेशमा दुई–दुई वटा अस्पताललाई कोरोना उपचारका लागि तयारी अवस्थामा राख्ने निर्णय भएको छ।

अस्पतालमा रहेको सेवा, सुविधाको आधारमा त्यसबारे प्रदेशले आवश्यक पहलकदमी लिने निर्णय गरिएको छ।

त्यसका लागि प्रत्येक प्रदेशलाई दुई/दुई करोड रुपैयाँ संघीय सरकारले उपलब्ध गराइसकेको छ।

प्रदेशहरुले आफ्नो बजेटको पाँच प्रतिशत रकम कोरोना नियन्त्रणको लागि छुट्याउने प्रस्ताव गरेका छन्।

छलफलको निष्कर्ष
नेपालमा अहिलेसम्म ४६५ जनाको परीक्षण गरिएकोमा ४५६ जनाको रिपोर्टमा कोरोना भाइरस नदेखिएको जानकारी गराइएको थियो।

बाँकी ९ जनाको रिपोर्ट आइतबार बेलुकासम्म आइपुग्ने बताइएको थियो।

एक जनालाई संक्रमण भएपनि उपचारपछि पूर्णरुपमा निको भएको र उनका कारण अन्य व्यक्ति संक्रमित नभएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी गराएका थिए।

एसईई परीक्षा यथावत
छलफलमा सहभागी अर्का एक मन्त्रीका अनुसार एसईई परीक्षा सार्नेबारे कुनै निर्णय गरिएको छैन।

‘अहिलेसम्म नेपालमा भित्रिएको नदेखिएकाले सारिहाल्नुपर्ने अवस्था छैन,’ छलफलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राखेको भनाई उदृत गर्दै सहभागी एक मन्त्रीले भने, ‘आवश्यक परे तत्काल निर्णय गर्नेगरी तयारी गरिएको छ।’

यसवर्षको एसईई परीक्षा चैत ६ गतेदेखि हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .