ad ad

समाज


कोरोनाविरुद्ध आपतकालीन अभ्यास गर्दै सेना, संक्रमितलाई राख्न ५२ शय्या तयार

कोरोनाविरुद्ध आपतकालीन अभ्यास गर्दै सेना, संक्रमितलाई राख्न ५२ शय्या तयार

उजिर कार्की
चैत २, २०७६ आइतबार १४:४५,

कोरोना संक्रमितको उपचार गर्न सेनाले आन्तरिक तयारी तीव्र बनाएको छ।

अहिले नेपालमा कोरोना संक्रमित नभएपनि मुलुक उच्च जोखिममा रहेकाले त्यही अनुसारको तयारी थालिएको सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

सेनाले जंगी अड्डामा आइसोलेसन वार्डसहितका टेन्ट बनाएर यसका लागि अभ्यास गरिरहेको छ। अभ्यासका लागि राजधानी बाहिर रहेका सैनिक चिकित्सकहरुलाई पनि झिकाइएको छ।

अभ्यासका क्रममा टेन्ट टाँग्नेदेखि, त्यहाँभित्र बेड, शौचालय, र अरु सामान कसरी फिट गर्ने भन्ने सिकाइन्छ। यस्तै कसरी उपचार गर्ने भन्ने पनि अभ्यास हुनेछ।

सेनाले ५२ बेड तयारी अवस्थामा राखेको छ। आपत परे टेन्ट टाँगेर उपचार गर्नका लागि ५ वटा स्थान हेरिसकिएको र ती स्थान सरकारलाई सिफारिस गरिसकिएको प्रवक्ता पाण्डेले बताए।

corona_tent_army6.jpg

वीरेन्द्र सैनिक अस्पतालमा आईसीयूका १० वटा बेड तयार पारिएको छ। त्यस्तै दुई–दुई वटा बेडसहितका १८ वटा फिल्ड एम्बुलेन्स पनि सेनासँग तयारी अवस्थामा छन्।

राजधानीबाहिर पोखरा, नेपालगन्ज र इटहरीमा सैनिक अस्पताल छन्। यी अस्पतालमा हाल दुईदुई वटा आइसोलेसन वार्ड कोरोना संक्रमितका लागि छुट्याइएको छ।

तर, आपतकालीन अवस्था आए ती अस्पतालले आवश्यकता अनुसार बेड थप गर्न सक्नेछन्। सेनाले विशेष कार्यदल बनाएर कोरोनाको सम्भावित खतराबाट बच्ने तयारीका काम गरिरहेको छ।

कार्यदलले कार्यविधि तयार गरिसकेको र त्यसै अनुसार आन्तरिक रुपमा लागेको प्रवक्ता पाण्डेले बताए।

अहिले स्वास्थ्य मन्त्रालयले नै लिड गरेर काम गरिरहेको छ। हामी हाम्रो हिसाबले आन्तरिक तयारीमा जुटेका छौं। त्यही अनुसार हाम्रो जनशक्तिलाई निर्देशन भइसकेको छ,’ उनले भने।

corona_tent_army3.jpg

कोरोना संक्रमितलाई सरकारले तोकेका अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको उनले बताए।

सरकारले कोरोना रोकथामका लागि प्रभावित मुलुकबाट फर्केकालाई आइसोलसनमा बस्न सुझाएको छ। श्रम स्वीकृति रद्द गर्नुका साथै पर्यटकलाई अनअराइभल भिसामा पनि रोक लगाएको छ।

देशभित्र अहिले कोरोनाका बिरामी देखिएका छैनन्। तर, प्रकोप फैलिए तयसको जिम्मा सेनालाई दिने संकेत सरकारले गरिसकेको छ।

Main_image_corona_tayari.jpg

यसअघि कोरोना प्रभावित चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काउने जिम्मा पनि नेपाली सेनालाई दिइएको थियो। नेपाल फर्काएपछि उनीहरुलाई सेनाकै निगरानीमा दुई साता क्वारेन्टाइनमा राखिएको थियो।

‘अपरेसन कोभिड–१९ नेपाल’ को नेतृत्व गरेका नेपाली सेनाको सरुवा रोग विभागका चिकित्सक नवीन फुयालले सेना कोरोनाविरुद्ध लड्न तयार रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .