ad ad

समाज


भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान

भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान

गोकुल जोशी
फागुन १६, २०७६ शुक्रबार १५:४७,

कञ्चनपुरमा बिहीबार भएकाे श्रीमान-श्रीमतीको रहश्यमय मृत्यु प्रकरणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलमा बिहीबार आफ्नै घरभित्र श्रीमान जयलाल भण्डारी र श्रीमती धनादेवीको शव रक्ताम्य अवस्थामा भेटिएको थियो।

घटनाबारे मृतक लोग्ने स्वास्नीको चरित्र, छोराहरुसँगको सम्बन्ध, छिमेकी तथा महिलाका पूर्व प्रेमीलगायतलाई केन्द्रित गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

‘बाबु–छोरा, अन्य घर परिवार, छिमेकी, पूर्व–प्रेमि, चरित्रसँग जोडेर अनुसन्धान केन्द्रित छ’ प्रहरी स्रोतले भन्यो।

मृतक धनादेवीको विवाह अघि एक युवासँग प्रेम सम्बन्ध रहेको खुलेको छ। यद्यपी प्रहरीले भने यो कुरालाई अहिले नै घटनासँग जोडिहाल्न नमिल्ने बताउँछ।

मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो। तीन वर्ष अगाडि जेठी श्रीमतीको क्यान्सर रोगबाट मृत्यु भएको डेढ महिनापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग जयलालले दोस्रो विवाह गरेका थिए। उनको पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने दोस्रो श्रीमतीबाट ६ महिने दुधे बालक छन्।

मृतक भण्डारी दम्पती ६ महिने दुधे बालक मात्रै लिएर कलुवापुरमा बस्ने गरेका थिए। जेठी श्रीमती तर्फका छाेराछाेरी उनीहरुकाे साथमा थिएनन्।

पहिलो श्रीमतीतर्फका छोराहरु एउटा डडेल्धुरा र अर्का महेन्द्रनगर बस्छन्। मृतक जयलालले जेठो छोरा भरत भण्डारीलाई करिब डेढ वर्ष अगाडि खुकुरी प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। छोरालाई खुकुरी प्रहार पछि पक्राउ परेका जयलाल २८ दिनपछि धरौटीमा छुटेका थिए।

प्रहरीले यिनै विषय र सम्बन्धहरुमाथि अनुसन्धान केन्द्रित गरेकाे जनाएको छ। तर घटनाको विस्तृत अनुसन्धान भइरहेपनि अहिलेसम्म शंकास्पद सबुत भने प्राप्त गर्न नसकेको प्रहरी स्रोत बताउँछ।

‘घटनास्थल हामी अध्ययन गर्‍याैं, तर त्यहाँ केही शंकास्पद सबुत देखिएको छैन’ एक प्रहरी अधिकारीले नेपालखबरसँग भने।

घटनास्थलबाट संकलित मोबाइल, कपाल, रगत, कपडा लगायतको विस्तृत अध्ययन भइरहेको प्रहरी बताउँछ।

मृत भेटिएका दम्पतीको शवको पोष्टमार्टम पनि केही ढिला भएको छ। बिहीवार बेलुका नै महाकाली अस्पतालमा शव ल्याइएको थियो। तर पोष्टमार्टमका लागि आवश्यक सामान अभावमा शुक्रवार दिनभर पनि पोष्टमार्टम हुन सकेन।

विभिन्न निकायसँग समन्वय गरेर मृतक श्रीमान्- श्रीमतीको फोनकल डिटेलको अध्ययन भइरहेको प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

‘कल डिटेल, लोकेसन हेर्दैछौँ, तर त्यसको विस्तृत रिपोर्ट आएको छैन,’ उनले भने, ‘को–कोसँग के–के कुरा भएको थियो, त्यो हेर्दै छौँ। अहिले नै अनुसन्धानको निष्कर्षमा पुगेका छैनौँ।’

उनका अनुसार पोष्टमार्टम रिपोर्ट पछि केही तथ्य खुल्ने छ। पोष्टमार्टम रिपोर्ट आएपछि घटनास्थलबाट संकलित भौतिक प्रमाणलाई ल्यावमा पठाउने तयारी छ।

प्रहरीका अनुसार मृतक भण्डारीकाे पारिवारिक पृष्ठभुमि अध्ययन भइरहेको छ। 

‘अहिले नै निष्कर्षमा पुगेका छैनौँ, हामीले सबै कुरा अध्ययन गर्दैछौँ, घटनास्थललाई केन्द्रित गरेर काम गर्दैछौँ’, कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने, ‘के कति कारणले घटना घटेको हो त्यो पनि खुल्न सकेको छैन, विस्तृत अनुसन्धान भइरहेको छ।’

५२ वर्षीय श्रीमान जयलाल भण्डारी र उनकी श्रीमती २५ वर्षीय धनादेवी भण्डारीको शव बिहीबार घरभित्रै शंकास्पद अवस्थामा भेटिएको थियो। घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको शव भेटिएको थियो। धनाको टाउको र जयलालको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिन्छ।

यो पनिः
दुध पुर्‍याउन गएकी फुपुकी छोरीले जब भण्डारी दम्पती ढलिरहेको देखिन्

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .