देशभरका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले तोकेको मितिमा नयाँ कार्यसमिति छान्ने निर्वाचन गर्न असफल भएको छ।
यही जेठ २६ गते पत्रकार महासंघले चुनावको मिति तोकेको थियो।
तर, सदस्यता विवाद नसुल्झेपछि निर्वाचन गर्न नसकेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन्।
शुक्रबार बेलुका पोखरेलले एक विज्ञप्ति जारी गर्दै घोषित मितिमा चुनाव नहुने स्पष्ट पारे।
सो कुराप्रति महासंघका उपाध्यक्ष उदय जियमले आपत्ती जनाएका छन्।
अध्यक्ष पोखरेलका अनुसार अब नयाँ चुनावको मिति असारको दोस्रो हप्ता तोक्ने तयारी छ। तर, त्यो बेला पनि चुनाव हुने निश्चित भने छैन।
यस्तो छ अध्यक्ष पोखरेलले निकालेको विज्ञप्ति
नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ। मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ। निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरिन्छ।
Shares
प्रतिक्रिया