ad ad

समाज


वुहानबाट अन्तिम समय नेपाल उड्न नपाएका सबै नेपाली स्वस्थ

वुहानबाट अन्तिम समय नेपाल उड्न नपाएका सबै नेपाली स्वस्थ

यज्ञराज जोशी
फागुन ४, २०७६ आइतबार ७:१२,

सरकारले लामो तयारीपछि अन्ततः चीनको वुहानबाट नेपालीहरु फर्काउन शनिबार राति नेपाल एयरलाइन्सको विमान पठायो। निर्धारित कार्यतालिका अनुसार शनिबार ११ (चिनिया समय) बजे विमानबाट नेपालीहरु स्वदेश फर्कने कार्यतालिका तय थियो।

त्यसको ६ घण्टाअघि नै चीनस्थित नेपाली दूतावासले सबैलाई एयरपोर्ट पुग्न भनिसकेको थियो। दूतावासको आग्रह अनुसार हुपेई प्रान्तका विभिन्न शहरबाट ६ वटा बसमा नेपालीहरु शनिबार बिहानैदेखि विमानस्थलका लागि हिडेका थिए।

स्वदेश फर्कन विमानका लागि गाडी चढ्न लागेका बेला नेपालखबरको सम्पर्कमा आएका केही विद्यार्थीले त आफूलाई जेलबाट मुक्त भएको झै महशुस गरेका थिए।

विमानस्थलमा पुगिसकेपछि पुर्वनिर्धारित कार्यक्रम अनुसार सबै नेपालीको स्वास्थ्य परिक्षण भयो। पहिलो मापदण्ड थियो, शरीरमा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम हुन नहुने। त्यसभन्दा बढी तापक्रम भए त्यसलाई शंकास्पद मानेर चीनमै उपचार गर्ने तय भएको थियो।

एकपछि अर्को नेपालीको प्रशिक्षणका क्रममा १ सय ८५ मध्ये १ सय ७५ जना मेडिकलमा पास भए। उनीहरुले बोर्डिङ पास पाए। जसमा वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना र जिङझाउका ४८ जना थिए।

तर, विमानस्थलमा पुगेका १० जनामध्ये ६ जना तापक्रम बढी भएका कारण एयरपोर्टमै रोकिए। त्यसपछि बाँकी चार जनाले पनि पहिले फर्कन नाम लेखाएपनि पछि फर्कन नचाहेका कारण उतै बस्ने निर्णय गरे।

विमानस्थल जाँच गर्दा तापक्रम बढि भएको पाइएपछि त्यहाँ रोकिएका ६ जनामा एक परिवार (श्रीमान, श्रीमती र बच्चा) तथा अन्य तीन पुरुष थिए। उनीहरुलाई कोरोना भाइरस हुनसक्ने शंका गरिएकाले अन्तिम समयमा उनीहरु बिना नै बाँकी नेपालीहरु बोकेर नेपाल एयरलाइन्स आइतबार बिहान नेपाल ओर्लियो।

केहीले वुहान एयरपोर्टमा रोकिएका ६ जनालाई कोरोना भाइरस संक्रमण भएको हो कि भन्ने आशंका गरेका थिए। तर, उनीहरु सबै स्वस्थ रहेको र अहिले आफ्नो यूनिभर्सिटी फर्किसकेको चीनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशील लम्सालले बेइजिङबाट नेपालखबरसँग भने।

‘काठमाडौं उड्नुअघि वुहान विमानस्थलमा उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ’, लम्सालले बेइजिङबाट भने, ‘स्वास्थ्यका कारण उडान अनुमति नपाएकाहरुको पछि शरिरको तापक्रम घट्यो। त्यसो भएपछि उनीहरु कोरोना संक्रमित नभएको पुष्टि भयो र अहिले उनीहरु आ–आफ्नो यूनिभर्सिटी फर्किसकेका छन्।’

अन्तिम समयमा नेपाल आउन नपाएका उनीहरुलाई तत्काल नेपाल ल्याउने भने कुनै योजना बनिसकेको छैन। लम्सालका अनुसार वुहान शहर ठप्प रहेकाले उनीहरुलाई पनि नेपाल ल्याउन पुनः सरकारीतवरबाट विशेष पहल थाल्नुपर्नेछ। दूतावास उनीहरुको निरन्तर सम्पर्कमै रहेको लम्सालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .