पश्चिमी न्यून चापीय प्रणाली र भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ।
यस क्रममा आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
साथै राति कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
मौसम महाशाखाले शुक्रबार (आज) साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया