नेपाल पशु चिकित्सा परिषद्ले फागुन २६ गते लिएको पशु चिकित्सकहरूको १९ औं लाईसेन्सिङ परीक्षामा ७९.२४ प्रतिशत उत्तीर्ण भएका छन्।
५३ जिल्लाका २१२ जना परीक्षामा सहभागी भएकोमा ४९ जिल्लाका १६८ जनाले परीक्षा उत्तीर्ण गरेको परिषद्का रजिस्ट्रार डा. मनोजकुमार शाहीले जानकारी दिए।
डा. शाहीका अनुसार, यस परीक्षामा उत्तीर्ण हुनेमध्ये ३८ प्रतिशत महिला छन्। उत्तीर्ण प्रतिशत पुरुषभन्दा महिलाको बढी देखिएको छ।
पुरुष ७३.६ प्रतिशत उत्तीर्ण भएकामा महिला ९२.२ प्रतिशत उत्तीर्ण भएका छन्।
नेपाल, बंगलादेश र चीनका विभिन्न ९ वटा विश्वविद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। सबैभन्दा बढी बागमती प्रदेशबाट ४१ जना र लुम्बिनी प्रदेशबाट ३५ जना उत्तीर्ण भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा ९-९ जना उत्तीर्ण भएका छन्।
यीमध्ये धेरै पशु चिकित्सक चितवन (१९), रुपन्देही (१२), दाङ (१०), नवलपरासी (८) र सप्तरी (८) का छन्।
नेपाल पशु चिकित्सा परिषद्ले गरेको पछिल्लो अध्ययनअनुसार तत्काल नेपालमा ३ हजार १ सय ६२ जना पशु चिकित्सकको आवश्यकता भए पनि जम्मा १ हजार ९ सय ८२ जना मात्र दर्ता छन्।
नेपालमा पशु चिकित्सा पठाउने जम्मा ४ वटा मात्र कलेज सञ्चालनमा छन्। वार्षिक करिब २ सय पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरी परिषद्मा दर्ता हुने गरेका छन्।
Shares
प्रतिक्रिया