ad ad

समाज


अर्काको समाचार हुबहु सार्ने १८३ वटा अनलाइन कारबाहीमा परे

अर्काको समाचार हुबहु सार्ने १८३ वटा अनलाइन कारबाहीमा परे

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १९:३१, काठमाडौँ

अरु सञ्चारमाध्यमहरूको समाचार हुबहु सार्ने १ सय ८३ वटा अनलाइनहरूलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ।

काउन्सिलले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन्।

काउन्सिलले गत आर्थिक वर्षयता समाचार हुबहु चोरी गरी सार्ने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको र ११ वटालाई सचेत गराइएको काउन्सिलले जनाएको छ।

‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित जवाफ आएको छ। मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले भने।

बुधबार बसेको प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाही प्रकृया अघि बढाउने निर्णय गरेको छ।

बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ। बैठकले एकजना लाई भुलसुधार गर्न र अर्कालाई खण्डन प्रकाशन गर्न निर्देशन दिने निर्णय गरेको छ। एक सञ्चारमाध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोमा सम्पादकलाई छलफलमा बोलाउने निर्णय भएको बोहोराले बताए।

काउन्सिल अध्यक्ष बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष एमव् काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहरा सहभागी थिए। 

अध्यक्ष बस्नेतले अनलाइनको सङ्ख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताए।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी र १२ गुनासा दर्ता भएका छन्।

पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आ.व.को गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन्।

काउन्सिलले मूल स्रोतको अनुमतिबिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .