ad ad

समाज


सर्लाहीमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो, एकको मृत्यु

सर्लाहीमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो, एकको मृत्यु

नेपालखबर
असार १५, २०७६ आइतबार ११:२६,

 सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सर्लाही र महोत्तरीको सीमानामा पर्ने  पूर्वपश्चिम राजमार्गको बाँकेमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

प्रहरीको गोली लागेर २७ वर्षीय सरोज केवल महतोको मृत्यु भएको हो।

शनिबार साँझ ईश्वरपुर नगरपालिकामा एक बच्चाको खोलामा डुबेर मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।

ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमितको बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो। त्यस क्षेत्रमा भएको अवैध उत्खननका कारण बालक डुब्न पुगेको भनि स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि गरे।

एसपी भट्टराई खोलामा डुबेर मृत्यु भएका बालकको शवको मुचुल्का उठाउने क्रममा स्थानीयले खोसेर पूर्वपश्चिम राजमार्गमा ल्याई प्रदर्शन गर्न थालेको र प्रहरीमाथि नै आक्रमण गरेको बताए।

राजमार्ग अवरुद्ध गरी गरिएको प्रदर्शन उग्र बन्दै गएपछि नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको र नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

‘प्रहरीलाई मुचुल्का उठाउनै नदिई शव खोसेर सडकमा प्रदर्शन गर्न थाले। प्रहरीले सम्झाउँदा उल्टै आक्रमण भयो’, एसपी भट्टराईले नेपालखबरसँग भने, ‘स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको हो।’

उनले गोली चलाउनुअघि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको र झडपका क्रममा पाँच प्रहरीसहित केही स्थानीय घाइते बनेको बताए।

स्थानीयले जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा अवैध रुपमा उत्खनन गरिएको र सोही कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .