ad ad

समाज


फेरि कमजोर भयो पश्चिमी वायु, अब केही दिन पानी नपर्ने

फेरि कमजोर भयो पश्चिमी वायु, अब केही दिन पानी नपर्ने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ ५, २०८० शुक्रबार ७:१५, काठमाडौँ

फेरि अब केही दिनलाई वर्षाको सम्भावना टरेको मौसमविद्ले बताएका छन्। 

डेढ महिनाको अन्तरालपछि यही माघ १ गते पानी पार्ने मौसमी प्रणाली (पश्चिमी वायु) भित्रिएको थियो। तर त्यो प्रणाली बिहीबार (माघ ४ गते) बाट हटेको हो। 

जसका कारण आगामी केही दिनलाई अब देशभर कतै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए। 

उनका अनुसार माघ १ यता अहिलेसम्म सबैभन्दा बढी वर्षा दोलखाको जिरीमा वर्षा भएको छ। ‘एक हप्तामा जिरीमा १५.९ मिलिमिटर वर्षा भएको छ’, मौसमविद् अधिकारीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘माघ १ गते भित्रिएको प्रणालीले सबैभन्दा बढी गराएको वर्षा त्यही हो। त्यो पनि एक हप्ताभरिमा।’

उनका अनुसार उक्त मौसमी प्रणालीले देशका पहाडी भेगका एक/दुई स्थानमा मात्र त्यो पनि हल्का वर्षा गराएको हो। ‘तराईमा त वर्षा नै भएन’, उनले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भयो।’

मौसमविद् अधिकारीका अनुसार हिउँदका बेला वर्षा गराउनले पश्चिमी वायुले हो। अहिले त्यो कमजोर भएको छ। 

‘केही दिनअघि बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावले पश्चिमी वायुलाई सहयोग गर्दा वर्षाको सम्भावना बढेको थियो’, उनले भने, ‘अहिले त्यसको प्रभाव पनि आउन छाड्यो, पश्चिमी वायु पनि कमजोर भयो, त्यसैले अबका केही दिन वर्षाको सम्भावना देखिन्न।’

उनका अनुसार केही प्रदेशमा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना भने छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेुिटनमा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।  

यस वर्ष हिउँदमा कम वर्षा

यस वर्ष हिउँदमा औसतभन्दा कम वर्षा भएको पनि मौसमविद् अधिकारीले बताए।

तर हिउँदयामको अवधि अझै करिब डेढ महिना बाँकी छ।

अंग्रेजी महिना डिसेम्बर, जनवरी र फेब्रुअरीसम्मलाई विन्टर सिजन अर्थात् हिउँदयाम मानिन्छ। आज जनवरी १९ तारिख हो। 

‘अझै विन्टर बाँकी छ’, मौसमविद् अधिकारीले भने, ‘यसपछि पानी पार्ने प्रणाली सक्रिय भयो भने वर्षा हुन पनि सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .