ad ad

समाज


आज दिउँसो नेपाल प्रवेश गर्दै पश्चिमी वायु

आज दिउँसो नेपाल प्रवेश गर्दै पश्चिमी वायु

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ०:५२,

केही दिनदेखि उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा आज (शुक्रबार), वर्षा/हिमपात गराउने प्रणाली प्रवेश गर्दै छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने संकेत देखिएको हो।

पश्चिमी वायुबाट विकसित यो प्रणालीको प्रभावले अब तीन दिन देशभर मौसम बदली तथा पहाडी भेगमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् कँडेलका अनुसार यो खासै शक्तिशाली प्रणाली नभएकाले देशको पहाडी भेगमा मात्रै यसको खास प्रभाव पर्ने देखिएको छ। तर यो तीन दिन घाम भने देशभर राम्रोसँग लाग्ने छैन।

‘यो त्यस्तो सशक्त खालको प्रणाली होइन, यसले खासगरी पश्चिम र पूर्वका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा गराउने देखिन्छ भने मध्य पहाडका पनि एक/दुई स्थानमा फाट्टफुट्ट पानी पर्न सक्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् कँडेलले भनिन्, ‘यसैगरी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने देखिन्छ।’

उनका अनुसार यसपटक त्यस्तो आत्तिनुपर्ने खालको वर्षा तथा हिमपात हुने सम्भावना छैन।

तर महाशाखाले भने आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ :  आज शुक्रबारबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

आज दिउँसो पश्चिमी पहाडी तथा हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना छ भने पूर्वी तथा मध्य क्षेत्रमा भने यस्तो सम्भावना साँझपख देखिएको छ।

आज काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना नरहेको उनले बताइन्। ‘घामचाहिँ राम्रोसँग लाग्ने देखिँदैन,’ उनले भनिन्, ‘कहिले घाम पनि लाग्छ, कहिले बादलले ढाक्छ।’

अहिलेको प्रणालीले तराई क्षेत्रमा भने खासै प्रभाव पार्ने नदेखिएको मौसमविद् कँडेलले बताइन्। उनका अनुसार पहाडको तुलनामा तराईमा आज घाम लाग्ने सम्भावना बढी छ।

अहिले तराई क्षेत्रमा हुस्सु/कुहिरो पनि खासै छैन। ‘रूपन्देही, नवलपरासीमा अलि अलि देखिएको छ,’ उनले भनिन्।

मौसमविद् कँडेलका अनुसार यसपटक औसतभन्दा धेरैपटक पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेको छ।

‘पश्चिमी न्यून चापीय प्रणाली योसमेत कतिपटक प्रवेश गर्‍याे भन्ने ठ्याक्कै तथ्यांक त अहिले भन्न सकिएन,’ उनले भनिन्, ‘तर यस वर्ष हिउँदे वर्षा औसतभन्दा धेरै नै भएको हो।’

आगामी तीन दिनको मौसम पूर्वानुमान   

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातीः देशका पूर्वी भु-भाग लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहनेछ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनाका साथै  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। 

 रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

          स्राेत : माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .