ad ad

समाज


बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

नेपालखबर
माघ १८, २०७६ शनिबार १:२९,

आज (शनिबार) बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको छ।

जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार यो, पश्चिमी वायुबाट विकसित कमजोर खालको माैसम प्रणाली हाे। तसर्थ यसले देशभर नै मौमस बदली गराए पनि वर्षा र हिमपात भने पश्चिम र मध्य क्षेत्रमा मात्र गराउने सम्भावना छ।

‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक/दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’

साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।

‘यसले मौसमचाहिँ पूर्वसम्मै बदली गराउँछ तर वर्षा र हिमपात पश्चिम र मध्य क्षेत्रमा मात्र सीमित हुने देखिन्छ,’ उनले भने।

मौसम महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
तराईका केही स्थानहरुमा हुस्सुरकुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ। साथै पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने भएका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध छ।  

मौसमविद् श्रेष्ठका अनुसार यतिबेला (शनिबार बिहान) पश्चिमी तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने मध्य र पूर्वका तराईमा यो लागेको छैन।

खासमा पानी पार्ने प्रणाली भित्रिएपछि हुस्सु/कुहिरो लाग्दैन। यस हिसाबले पश्चिम क्षेत्रमा लागेको हुस्सु कुहिरो पनि बिस्तारै हट्दै जाने उनको अनुमान छ।

काठमाडौंमा पनि पर्छ पानी?
मध्य क्षेत्रको पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि शनिबार बिहान पश्चिमी निम्न चापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको छ।

आज काठमाडौंमा कहिले घाम कहिले बादल हुने मौसमविद् समीर श्रेष्ठको अनुमान छ। साथै साँझपख हल्का वर्षाको पनि सम्भावना रहेको उनले बताए।

यसैबीच अहिले बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।

मौसमविद्का अनुसार राति आकाशमा बादल लागेको दिन बिहान न्यूनतम तापक्रम घट्छ र जसले बिहानको चिसो केही कम गर्छ।

फेरि दिउँसो घाम लाग्न नपाउँदा भने अधिकतम तापक्रम घट्छ र जाडो बढ्छ।

भोलि आइतबार भने मौसममा सुधार हुने मौसमविद्को अनुमान छ।

आगामी ३ दिनको मौसम पूर्वानुमान  
माघ १८ गते (शनिबार)
दिउँसो :
देशका पहाडी भूभागमा आशिंकदेखि सामान्यसम्म बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राति : पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)
दिउँसो : 
पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)
दिउँसो :
पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भूभागमा आशिंकदेखि सामान्यसम्म बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, काठमाडौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .