ad ad

समाज


नेपालको थप स्थानबाट बाहिरियो मनसुन, अब पूर्वी भागमा मात्र बाँकी

नेपालको थप स्थानबाट बाहिरियो मनसुन, अब पूर्वी भागमा मात्र बाँकी

नेपालखबर
असोज २७, २०८० शनिबार २०:०, काठमाडौँ

नेपालको थप स्थानबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २७ गते) गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै क्षेत्रबाट तथा बागमती र मधेश प्रदेशका अधिकांश स्थानबाट मनसुन बाहिरिएको हो। 

योसँगै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ भने बागमती र मधेश प्रदेशका धेरैजसो स्थानबाट मनसुन हटेको छ। अब मनसुन बागमती र मधेश प्रदेशका थोरै स्थान र कोशी प्रदेशमा मात्र बाँकी छ।  

‘यस वर्षको मनसुन आज मिति २०८० असोज २७ गते (तद्‌अनुसार १४ अक्टोबर, २०२३) का दिन नेपालको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा बागमती प्रदेश र मधेश प्रदेशका अधिकांश भूभागबाट बाहिरिएको छ’, मौसम महाशाखाले शनिबार जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘यस अघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागबाट समेत मनसुन बाहिरीसकेको छ।’

पूर्वबाट प्रवेश गरेर क्रमशः पश्चिमसम्म फैलिएको मनसुन बाहिरिँदा पनि पश्चिमबाट क्रमशः हट्दै हट्दै पूर्वबाट बिदा हुन्छ।

यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा एक दिन ढिला गत जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो। यस्तै नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख थियो। तर यस वर्ष मनसुन औसत मितिभन्दा निकै ढिला गरी बाहिरिइरहेको छ।

सुरुमा यही अक्टोबर ६ तारिखका दिन मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको थियो। त्यसयता मनसुन क्रमश: बाहिरिँदै मधेश प्रदेशसम्म (धेरैजसो स्थान) बाट बाहिरिएको हो।  

मनसुन पूर्ण रूपमा बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।

यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।

डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।

आज राति कस्तो रहला मौसम? 
हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .