ad ad

समाज


मृत्युदण्ड सजाय सुनाइएका छोरालाई १४ वर्षदेखि पर्खिबसेका यी आमाबुबा

मृत्युदण्ड सजाय सुनाइएका छोरालाई १४ वर्षदेखि पर्खिबसेका यी आमाबुबा

शैलेन्द्र महतो
माघ १२, २०७६ आइतबार ७:६,

धनुषाको कमला नगरपालिका ३ पर्साका भोला यादव र उनकी श्रीमती कुमरदेवीको चेहरामा केही दिनयताबाट चमक देखिन थालेको छ। दुःख, चिन्ताले निन्याउरो र निराश देखिने उमेरले ७० काटिसकेका भोला र कुमरदेवीको अनुहारमा अहिले खुसीको भाव सहजै देख्न सकिन्छ।

सायदै भेट होला भनेर आशा मारिसकेको छोरो विदेशमा मृत्युको मुखबाट उम्केर वर्षौंपछि स्वदेश फर्किन सफल हुँदा सबैभन्दा खुशी आमाबाबु र परिवारमै देखिने त हो। र, त्यो खुशीको दिन हुने सायद यो सोमबार, जब काठमाडौंबाट उमेश धनुषा घर आइपुग्ने छन्।

एक जना पाकिस्तानीको हत्या आरोपमा साउदी अरेबियाको जुबेल कोर्टको आदेशले जुबेल जेलमा साढे १३ वर्षदेखि मृत्युदण्ड कुरिरहेका ३९ वर्षका उमेश यादव जनकपुरका समाजिक अभियन्ता सरोज रायको प्रयासमा आममाफी पाएर गएको बुधबार सकुशल नेपाल फर्किसकेका छन्। विशेष कामले उमेश अहिले अभियन्ता रायसँग काठमाडौंमै छन्। रायका अनुसार उमेश सोमबार धनुषा घर पुग्नेछन्।

उमेश सकुशल स्वदेश आइपुगेको खबरले बुबा भोला र आमा कुमरदेवी चार दिनदेखि बेलैमा खानपिन गरी दैलोमा बसेर छोराको बाटो हेरिरहेका छन्। १४ वर्षपछि स्वदेश फर्केका उमेश कति बेला घर आइपुग्छन्, रंग रुप कस्तो भएहोला? कति बदलेछन्? मनमा तर्कना खेलाउँदै आफ्नै आँखाले प्रत्यक्ष हेर्न र गलामिल्न आतुर देखिन्छन् भोला र कुमरदेवी।

‘१४ वर्षअघि विदेश जाँदा उमेशलाई विदाई गर्न परसम्म गएको थिएँ, त्यसपछि आजसम्म एक नजर हेर्न पाएको छैन’, बुबा भोलाले नेपालखबरसँग भने, ‘उमेशलाई हेर्न आखाँ तर्सिरहेको छ, मन आतुर छ, उसैको बाटो ताक्दै छु।’

भोला केही वर्षदेखि पारालाइसिस (लकवा) रोगले पीडित छन्। हात राम्ररी चल्दैन। तर अहिले साइँलो छोरो फर्किएको खबरले उनको स्वास्थ्यमा उर्जाको रक्त संचार भएको छ र हात पहिलेभन्दा बढी नै चल्न थालेको महशुस गरेका छन्।

आमा कुमरदेवी पनि छोरालाई नजिकबाट हेर्न निकै हतारिएकी छिन्।

‘काठमाडौं आइपुगेको छु, अब चाँडै घर आउँछु भनेको छ’, आमा कुमारदेवीले भनिन्।

साउदी गएको केही महिनापछि नै पाकिस्तानी सहकर्मीको हत्या आरोपमा उमेश जेल गएपछि उनकी श्रीमती मन्जु दुई छोरासहित धनुषाको महेन्द्रनगर बस्दै आएकी छन्। आफ्नो सहारा छोरा साउदीको जेलमा र बुहारी समेत घर छोडेर गएपछि आमाबाबु आफैंले घरको जोहो गर्दै आएका छन्।

‘बुहारी गएपछि १३ वर्षदेखि आफै भान्छा पकाउँछु, उमेशका बुबा विरामी हुनुहुन्छ । म आफै पनि विरामी भएको दिन दुवैजना भोकै सुत्ने गरेका छौं’, आमा कुमरदेवीले भनिन्, ‘उमेश आउने आश थिएन तर, सरोज बौवाको प्रयास र सबैको सहयोगले यो सम्भव भएको छ। छोरा आएपछि अब हाम्रो दिन पनि फेरिन्छ।’

घरको अवस्था राम्रो बनाउँला, जग्गा जमिन जोडौंला भन्ने सपना साँचेर उमेश साहुमहाजनसँग १ लाख ४० हजार रुपैयाँ ऋण काढेर वैदेशिक रोजगारीको क्रममा २००६ मा साउदी अरेबिया उडेका थिए। साउदीमा कार्यरत्त कम्पनीमा पाकिस्तानी नागरिकसँग विवदमा दुर्घटना हुँदा हत्या आरोपमा उमेश जेल गएपछि उनको घरको अवस्था दयनीय भयो। केही समयपछि उनकी श्रीमती मन्जुदेवी दुई छोराको लालनपालन र पढाईका निम्ति धनुषाको महेन्द्रनगरमै गएर बस्न थालिन्। श्रीमती मन्जु महेन्द्रनगरकै एक उद्योगमा मजदुरी गर्दै दुई छोरालाई पढाउँदै आएको उमेशले नेपालखबरलाई बताए।

चार दाजुभाईमध्ये साइँलो छोरा उमेश साउदी जानु अघि नै आपसमा छुट्टिएका थिए। आमाबाबुको सेवा र हेरचाह गर्ने जिम्मा उमेशले नै पाएका थिए। तर उमेश विदेशको जेलमा परे, बुहारीले घर छाडेपछि आमाबाबुको जीवन पनि कष्टकर बन्यो।

उमेशका जेठो छोरा कमलेश १७ वर्ष र कान्छो रितेश साढे १३ वर्षका भए। दुवैजना आमासँगै बसेर महेन्द्रनगरमै पढिरहेका छन् ।

घरको आर्थिक अवस्था सुधार गर्न सन् २००६ मा साउदी अरेबिया पुगेका उमेशलाई गएको १ महिना १२ दिनपछि आफ्नै सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरसँग विवद भएको थियो। समान्य कुरालाई लिएर पाकिस्तानि नागरिक वारिसले जथाभावी आक्रमण गरेपछि उमेशले आत्मरक्षा गर्न चाहे तर सकेनन्। त्यसै क्रममा प्रतिवाद गर्दा पाकिस्तानी नागरिक वारिस घाइते भए र उनको उपचारको क्रममा १५ दिनपछि मृत्यु भयो। त्यसपछि हत्या आरोपमा कारबाही गर्न उमेशलाई जुबेल अदालते जेलमा राख्ने आदेश दियो। जेल जीवन बिताइरहेको १२ वर्षपछि १५ मे २०१८ मा जुबेल अदालतले उमेशलाई मृत्यु दण्डको सजाय सुनाएको थियो।

‘घाँटी काटेर उमेशलाई २४ घण्टा झुण्डयाउने’ आदेश अदालतले दिएको थियो।

उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए।

अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए। उनले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए।

मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता रायले ‘ब्लडमनी’ लगायत अदालती प्रक्रियामा अगाडि बढेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ तिरेर विभिन्न निकायको सहयोगमा अदालती प्रक्रिया अगाडि बढाएपछि जुवेल अदालते उमेशलाई पछि आममाफी दिँदै रिहा गरेको हो।

जेलबाट रिहा भए लगतै उपमेशलाई नेपाल आउन त्यहाँका प्रहरीले बिमानस्थलमा छोडिदिएको थियो। भोली पल्टै माघ ८ गते बिहानै उनी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .