ad ad

समाज


वुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)

वुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १२:५१,

पुस अन्तिममा चीनको वुहानबाट फर्किएका नेपालीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले ३२ वर्षीय ती पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि गरेका हुन्।

पढ्नका लागि चीन गएका ती विद्यार्थी नेपाल फर्केर आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वास्थ्यपरीक्षण गरिएको थियो।

सो क्रममा उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। ‘उहाँ अहिले हाम्रो निगरानीमा हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ,’ डा. बाँस्तोलाले नेपालखबरसँग भने।

शुक्रराज अस्पतालका निर्देशक डा वासुदेव पान्डेले ती व्यक्तिमा संक्रमण भए नभएको बारे हङकङमा रगत परीक्षणका लागि पठाइएकोमा पोजिटिभ रिपोर्ट आएको बताए। हाल ती व्यक्ति परिवारसँग नै रहेको र अन्य सदस्यलाई ज्वरो लगायतका समस्या देखिए खबर गर्न भनेको जानकारी दिए। डा पाण्डेका अनसार थप परीक्षणका लागि पुनः उनको रगत हङकङ पठाइने तयारी भइरहेको छ। 'हाल उनी स्वस्थ छन् तर भाइररस अझै छ कि छैन भनेर पठाउन लागेका हौँ त्यसपछि मात्रै थाहा हुन्छ' उनले भने।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सम्बन्धमा शुक्रबार पत्रकार सम्मेलन गरी त्यसबारे थप जानकारी  दिएकाे छ।

‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोलाबोरेटिङ सेन्टर हङकङ पठाइएकोमा जाँच पोजीटीभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरसका सम्बन्धमा शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ। ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययनहरू गरीरहेको छ।’

बिरामीसँग नजिकको सम्पर्कमा आएको हुन सक्नेहरूको खोजी गरी पहिचान र परिक्षणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ। यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई चाडै विस्तृत विवरण सहित जानकारी गराउन लागेको सरकारले बताएको छ।

‘विश्व स्वास्थ्य संगठनको प्राविधिक सहायोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट नै बनाएर उपलब्ध गराउने काम गरीसकेको छ। जसमा अस्पताल र स्वास्थ्यकर्मीहरूले शंकास्पद बिरामीको पहिचान र उपचारमा अपनाउनु पर्ने विधिहरू शंकास्पद बिरामी, परिवार र कुरुवाहरूले रोग सर्न नदिन अपनाउनु पर्ने सावधानीहरूका बारेमा उल्लेख गरिएको छ।’

तिनलाई पाँच समूहमा बर्गिकरण गरिएको छ जसअनुसार एक निगरानी र रिपोर्टिङ दुई विरामीको उपचार तीन संक्रमण रोकथाम र नियन्त्रण चार जोखिम सञ्चार र पाँच प्रयोगशाला नमूना संकलन र वानी व्यवस्थापन छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूबीच विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाउँदै उपयुक्त जनशक्ति र उपकरणहरु सहित नेपाल भित्र शंकास्पद बिरामीहरूको निगरानी कार्य भईरहको मन्त्रालयले जनाएको छ।

‘त्यहाँबाट ज्वरो सहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरूमा अवलोकन, परिक्षण, उपचारका लागि लैजाने व्यवस्था भईसकेको छ । त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरूमै यात्रुहरूको स्वास्थ्यसम्बन्धी फाराम भरी विमास्थलमा पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ,’ मन्त्रालयले भनेको छ। ‘तोकिएका स्वास्थ्य संस्थाका कर्मचारीहरू, हब, स्याटेलाईट अस्पतालहरूलाई शंकास्पद रोग पहिचान, रिपोर्टिङ, व्यवस्थापन र रिफर चुस्त दुरुस्त तरिकाले गर्ने गराउने वातावरण बनाउँदै गरिएको छ।’

मन्त्रालयका अनुसार शंकास्पद बिरामीको रिपोटिङ्ग गर्ने फाराम र रोगबारेको सूचना सामाग्रीहरू सबैले पाउने गरी उपलब्ध गराउनुका साथै त्यस किसिमका विरामीहरू आउनसक्ने स्थानहरूमा तयारी र शतर्कता समेत अपनाईएको छ ।

याे पनि:
चीनबाट फर्केका नेपाली विद्यार्थीलाई रहस्यमय कोरोना भाइरस लागेको आशंका
कोरोना भाइरस फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .