सन् १९९९ को डिसेम्बर २४ तारिख शुक्रबार अपराह्न काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका पाइलट देवी शरणले विमानस्थलको सुरक्षामा बेग्लै बल आवश्यक हुने बताएका छन्।
हाल सेवा निवृत्त शरणले आईसी ८१४ को अपहरणपछि विमानस्थलको सुरक्षाका लागि बेग्लै एयरपोर्ट सेक्युरिटी फोर्स (एएसएफ) को अवधारणा अघि बढाए पनि कहिल्यै कार्यान्वयन नभएको बताए।
उनले अझै पनि त्यस्तो सुरक्षा दस्ता अत्यावश्यक भएको बताएका छन्।
उड्डयन सुरक्षा एवम् संस्कृति सप्ताहका अवसरमा नयाँदिल्लीमा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपहरण गरिएको विमान पञ्जाबमा अवतरण गर्दा अमृतसर पुलिस र एयरपोर्टका सुरक्षा अधिकारी कति असहाय थिए भन्ने तथ्य सबैले बुझेका बताए।
‘अपहरण भएको विमान अमृतसरमा अवतरण गर्दा विमानस्थलको सुरक्षा जिम्मेवारी स्थानीय प्रहरीसँग थियो’, उनले भने, ‘तिनीहरू असहाय थिए, यदि विशेष दल भइदिएको भए स्थिति नियन्त्रण गर्न सक्थे। अपहरणकर्ताले जहाज पाकिस्तान लैजाऊ भन्दा कारबाही गर्न सकिन्थ्यो।’
उक्त घटनापछि विमानस्थलका लागि बेग्लै सुरक्षा बलको सुझाव आएको थियो। तर त्यसलाई कार्यानवयन गरिएन।
भविष्यमा त्यस्ता अप्रिय अवस्थाको सामना गर्नुनपरोस् भन्ने उद्देश्यका साथ बेग्लै सुरक्षा बल आवश्यक भएको उनले दोहोर्याए।
मखुण्डो लगाएका पाँच पाकिस्तानी उग्रवादीले १७६ यात्रु बोकेको एयरबसलाई काठमाडौंबाट अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर हुँदै तालिवानको केन्द्रबिन्दु अफगानिस्तानको कान्दाहारसम्म पुर्याएका थिए।
यात्रीको भेषमा रहेका अपहरणकारीले एकजनाको हत्या गरेका थिए। त्यसबेला उनीहरुले लाहौर हुँदै दुबई पुग्दा २७ जनालाई छाडेका थिए।
भारतले तीनजना आतङ्कवादी मुश्ताक अहमद जरगर, अहमद उमर सईद शेख र मसूद अजहरलाई रिहा गर्न सहमति जनाएपछि विमान अपहरणपछिको बन्धक संकट सात दिनमा टुङ्गिएको थियो। त्यसबेला विमानमा चालक दलका १५ जना सदस्य थिए।
Shares
प्रतिक्रिया