ad ad

समाज


झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ

झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ

नेपालखबर
असार १४, २०८० बिहिबार २१:४६, काठमाडौँ

झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ। नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन्।

पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन) जाँच सुरु गरिएको छ। प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो। 

लागुऔषध सेवनका कारण समाजमा विभिन्न प्रकृतिका अपराधसँगै दुर्घटनासमेत बढ्न थालेपछि प्रहरीले लापसे जाँच सीमा क्षेत्रबाटै सुरु गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

‘दुर्घटनासँगै आपराधिक घटना बढिरहेका छन्’, उनले भने, ‘सीमाबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्ति, राजमार्गमा सवारीसाधन चलाउने चालक तथा सहचालकको लापसे जाँच गर्छौं।’

उनले लापसे जाँचका लागि स्थानीय सङ्घसंस्थाले किट उपलब्ध गराएको बताए। पछिल्लो समय लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना र मानवीय क्षति धेरै हुने गरेको प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक सवारी, म्याजिक गाडी, सिटी सफारीलगायतका चालकको लापसे जाँच गरिरहेको छ। प्रनाउ भारतीले लापसे जाँच प्रभावकारी देखिएको हुँदा किट खरिदका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको बताए।

‘एउटै किटलाई रु चार सयभन्दा बढी मूल्य पर्छ, आफैँ खरिद गरेर जाँच गर्नसक्ने अवस्था छैन’, उनले भने, ‘स्थानीय सरकार र सामाजिक सङ्घसंस्थासँग किटको व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’

पूर्वीनाका रहेको मेचीनगरमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता बढिरहेका छन्। चालु आर्थिक वर्षको ११ महिनामा इप्रका काँकरभिट्टामा दर्ता भएका एक सय ४९ वटा मुद्दामध्ये ४५ वटा लागुऔषधका छन्। 

मेचीनगर नगरपालिका–१५ की मैनादेवी थापाले लागुऔषध न्यूनीकरणका कार्यक्रम ग्रामीण क्षेत्रमा नपुगेको बताए। उनले गाउँगाउँमा कारोबारीको सञ्जाल उत्तिकै रहेको र युवालाई जोगाउन गाह्रो भइरहेको बताए। उनले लागुऔषध प्रयोगकर्ताका कारण गाउँमा चोरी, तस्करीसँगै आपराधिक घटना बढिरहेको बताए।

दिनैपिच्छे कारोबारी पक्राउ
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार लागुऔषधको कारोबार गरेको अभियोगमा जिल्लामा हरेक दिन औसत एक अभियुक्त पक्राउ पर्ने गरेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक पनि छन्।

झापामा भारतसँग एक सय ४४ किलोमटिर लामो खुला सिमाना छ। पूर्वको मेचीनगरमा पश्चिम बङ्गाल र दक्षिणको भद्रपुरदेखि गौरीगञ्जसम्म विहार प्रान्तसँग सीमा जोडिएको छ। पश्चिम बङ्गालसँग सीमा जोडिएको प्रमुख व्यापारिक नाका काँकरभिट्टा, बिहारसँग जोडिएको भद्रपुर र गौरीगञ्जलाई लागुऔषधका कारोवारीले ओसारपसारको अखडा जस्तै बनाएका छन्। 

जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा प्रहरीले विभिन्न स्थानबाट तीन सय तीन जना लागुऔषधका कारोबारी पक्राउ गरेको छ। त्यसमा १५ जना भारतीय नागरिक रहेका छन्। 

‘सीमामा प्रहरीको उच्च निगरानी छ’, प्रहरीका सूचना अधिकारी रिजालले भने, ‘तर पनि लागुऔषधको कारोबार मुख्य चुनौतीका रूपमा खडा भएको छ। जनचेतनाको कमीले होला, यसलाई रोक्न जनस्तरमा जागरुकता देखिँदैन।’ उनले ग्रामीण क्षेत्रसम्म यसको सञ्जाल फैलिएको हुँदा निगरानीमा स्वयं अभिभावक पनि जागरुक हुनुपर्ने बताए।

प्रहरीले कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको काँकडभिट्टा, भद्रपुर, बनियानी र गौरीगञ्जमा निगरानी बढाएपछि अभियुक्त पक्राउ पर्ने र मुद्दा दर्ताको सङ्ख्या ह्वात्तै बढेको छ। चालु आवको साउनदेखि जेठमसम्मको ११ महिनामा लागुऔषधका कारोबारीविरुद्ध एक सय ८४ वटा मुद्दा दर्ता भएको छ।

सोही अवधिमा एक हजार चार सय ९२ ग्राम ब्राउन सुगर र २७ केजी गाँजासहित डाइजीमापाम, फेनारगन, लुपिजेसीकलगायतका चक्की समेत बरामद गरिएको रिजालले बताए।

लागुऔषध न्यूनीकरणका लागि तीनै तहका सरकारले स्थानीय सङ्घसंस्था र प्रहरीसँग मिलेर सचेतनामूलक कार्यक्रम सुरु गरेका छन्। यद्यपि न्यूनीकरणमा भने चुनौती देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .