उच्च अदालत विराटनगरले बलात्कारको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
शुक्रबार उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले गिरीको कैफियत प्रतिवेदन भिकाउन आदेश दिएको हो।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोगमा मंसिर १६ गते पक्राउ परेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेको थियो। जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।
बिहीबार जिल्लाको आदेश बदर गर्न माग गर्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दर्ता गरेको थियो। सोही रिट निवेदनमाथि बहस गर्दै शुक्रबार उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।
सरकारी वकिलको कार्यालयले पीडितको बयान, फोन धम्की, म्यासेज आदि प्रमाण हुँदाहुँदै जिल्ला अदालतले छाडेको भन्दै थुनामै राखेर अनुसन्धान अगाडि बढाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो।
यो पनि: बलात्कार आरोपित ‘सिद्धबाबा’को राजनीतिक कनेक्सनः राष्ट्रपतिदेखि पूर्वराजासम्म
प्रतिक्रिया