ad ad

समाज


सर्लाहीका विभिन्न जंगलमा डढेलो, सम्बन्धित निकाय मुकदर्शक (भिडिओ)

सर्लाहीका विभिन्न जंगलमा डढेलो, सम्बन्धित निकाय मुकदर्शक (भिडिओ)

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार ९:४१, सर्लाही

विगत केही दिनदेखि सर्लाहीका विभिन्न वनमा डढेलो लागिरहेको छ। 

सर्लाहीका दर्जनौँ ठाउँमा डढेलोले वन सखाप बनाउँदासमेत सम्बन्धित निकायले नियन्त्रणमा चासो देखाएका छैनन्।

जिल्ला वन कार्यालय र सागरनाथ वन विकास परियोजना मातहत रहेका राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रमा फागुनको दोस्रो सातादेखि नै डढेलो लाग्न सुरु भएको हो। 

सागरनाथ वन विकास परियोजनाका प्रमुख रामकिशोर यादवले परियोजना क्षेत्रका दर्जनौँ ठाउँमा डढेलो लागेको स्वीकार गरे। 

‘डढेलो नियन्त्रणको प्रयास हामी गरिरहेका छौँ, तर सुख्खा मौसमको कारण सम्भव भइरहेको छैन,’ नेपालखबरसँग उनले भने, ‘हाम्रो वन क्षेत्र खुला छ। एकातिर निभायो अर्कोतिर गोठाला र शिकारीले डढेलो लगाइहाल्छन्।’

यस बीचमा वन हेरालु परिचालन गरेर धेरै ठाउँको डढेलो निभाइएको दाबी उनले गरे। ‘हामीले ट्याक्टरमा पानी ओसारेर पनि डढेलो निभाएका छौँ,’ यादवले भने। 

यादवले डढेलो निभाएको दाबी गरे पनि परियोजनाको कार्यालय नजिकै अवस्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको ईश्वरपुर नगरपालिका क्षेत्रको परियोजनाको वनमा यतिबेला डढेलो लागिरहेको छ। डढेलोको धुँवाले राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई समेत समस्या हुने गरेको छ।

डिभिजन वन कार्यालय सर्लाहीका जिल्ला वन अधिकृत (डीएफओ) मञ्जुर अहमदले राष्ट्रिय वन क्षेत्रको डढेलो आफूहरुले निभाउने गरेको दाबी गरे। 

‘सामुदायिक वन क्षेत्र र सागरनाथ परियोजना क्षेत्रमा लागेको डढेलो सम्वन्धित निकायले नै निभाउनु पर्छ,’ उनले भने, ‘कतिपय ठाउँमा अहिले पनि डढेलो लागिरहेको सूचना हामीलाई पनि आएको छ। हामीले सम्बन्धित निकायलाई त्यसको जानकारी गराएका छौँ।’

विगत ६ महिनादेखि मधेश प्रदेशमा पानी परेको छैन। पानी नपर्दा वनजंगल क्षेत्रमा सुख्खापन बढ्दै गएको छ। जसको कारण सर्लाही, महोत्तरी सहितका जिल्लामा चैत नलाग्दै वन जंगलमा डढेलो फैलिन थालेको छ। 

वर्षेनी डढेलोले वन सखाप बनाउँदा पनि सम्बन्धित निकायले वनमा डढेलो लगाउनेको खोजी गर्ने र उनीहरुलाई कारबाही गर्नेतिर ध्यान दिएका छैनन्। 

विशेषगरी गाईवस्तु चराउन जाने गोठाला, घाँसे दाउरे र वन्यजन्तुको शिकार गर्न जानेहरुले जंगलमा डढेलो लगाउने गरेका छन्। 

डढेलोको भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .