चिसो बढेसँगै मनाङको तापक्रम माइनस १० पुगेको छ। चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ। पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन्।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेको र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिए।
उनका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन्। माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन्।
थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ। पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन्।
प्रमुख जिल्ला अधिकारी पुष्पराज ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताए। तल्लो भेगमा समेत अधिकांश मानिस जिल्ला छोडी सकेका छन्। रासस
Shares
प्रतिक्रिया