ad ad

समाज


साढे ६ करोड खर्चेर बनाएको वधशाला प्रयोगबिहीन

साढे ६ करोड खर्चेर बनाएको वधशाला प्रयोगबिहीन

प्रकाश न्यौपाने
पुस १०, २०७६ बिहिबार ७:७,

वधशालामा वध गरिएको पशुको स्वस्थ मासु उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यसहित बुटवलमा पशु वधशाला निर्माण गरियो।

बुटवलको धागो कारखाना नजिकै रहेको उक्त वधशाला सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको छ। भवनको झ्यालका सिसा फुटेका छन् भने भवन वरिपरिको झाडीले छोपेको छ। दुर्गन्ध सहिनसक्नु छ।

वधशालानजिक हड्डी नै हड्डी थुपारिएको छ। राँगा, भैँसी, पाडाका हड्डीको दुर्गन्धले नजिक मानिस जानै सक्दैनन्। उपकरण प्रयोगमा छैनन्। वधशाला निर्माण गरेको ४ वर्ष बितिसक्यो। प्राविधिक त्रुटी भएको भन्दै यसलाई सञ्चालनमा नल्याइएको हो।

नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा वधशाला निर्माण गरिएको हो। ‘हामी निर्वाचित भएर आउनुभन्दा पहिला नै यो वधशाला बनेको हो। प्राविधिक त्रुटीले सञ्चालन गर्न सकिँदैन भन्ने निष्कर्ष आएको छ’, बुटवल उपमहानगरपालिकाका प्रमख शिवराज सुवेदीले नेपालखबरसँग भने, ‘यो प्रयोग नआए अर्को बधशाला जरुरी छ। हामीले अर्को वधशाला बनाएर उपभोक्तालाई स्वस्थ मासु खान पाउने वातावरण बनाउँछौं।’ उनले त्यसका लागि बजेट छुट्याएको जानकारी दिए।

अहिले यो भवन गोदामघरका रुपमासमेत प्रयोग गर्न नहुने भइसकेको छ। बधशाला निर्माणका लागि भवनको स्टेन्थ रेट करिब २० प्रतिशत हुनुपर्नेमा गुणस्तर जम्मा १२ प्रतिशत रहेको निष्कर्ष प्राविधिकहरुको छ। उपभोक्तालाई स्वस्थकर मासु खुवाउने उद्देश्यले निर्माण भएको पशु वधशाला निर्माणमा ६ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ।

०७१-०७२ मा तत्कालीन पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत पशुपंक्षी बजार निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयको निगरानीमा यसको निर्माण कार्य अगाडि बढाइएको थियो। सोही आर्थिक वर्षमा सरकारको ५० लाख रुपैयाँ र बुटवल उपमहानगरको १५ लाख रुपैयाँ गरी ६५ लाखमा निर्माणको काम सुरु गरिएको थियो। निर्माण सकिँदासम्म बजेट साढे ६ करोड पुगेको हो। त्यतीमात्र हैन वधशालाका लागि आवश्यक पर्ने झण्डै ६० लाख मूल्य बराबरका उपकरण समेत खरिद भइसकेका छन्। जुन अहिले प्रयोगविहीन छन्।

बधशालालाई यही अवस्थामा मर्मतसम्भार गरेर गोदामघर बनाउने र फोर–पी मोडलमा अर्को संरचना तयार गर्ने गरी अहिले प्रक्रिया अगाडि बढेको छ। पछिल्लो समयमा यस विषयमा अध्ययन गरिरहेको भारतको जिके सेन एन्ड एसोसिएट्स कम्पनीका इन्जिनियर जितेश पालले सुरुमा निर्माण गरिएको संचारनाको भौतिक प्रगति शून्यजस्तै भएको बताए। ‘पूरानो संरचना जीर्ण भएकाले प्रयोग गर्न मिल्दैन। यसैले त्यसको प्रगति शून्य सरह नै हो’, उनले भने।

मासु व्यवसायी संघ रुपन्देही अध्यक्ष कृष्ण पौडेलले आफूहरुले वधशालाबाटै पशु वध होस् भन्ने भएको बताए। ‘पहिला नै बनिसकेको वधशाला सञ्चालन हुनुपथ्र्यो तर भएन्। अब अर्को बनाएर भए पनि बधशालामै पशु वध हुुनुपर्छ। यसो गरेमा व्यवसायीलाई पनि सहज हुने, उपभोक्ताले पनि स्वच्छ मासु खान पाउने’, उनले भने।

अहिले उपमहानगरले करिव २२ करोडको लागतमा पुनः अत्याधुनिक पशु वधशाला सञ्चालन गर्ने तयारी गरेको छ। प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बधशाला निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरले ३ करोड, सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध सदस्यहरुबाट ६ करोड २५ लाख, मासु व्यवसायी संघमा आबद्ध व्यवसायीहरुबाट ३ करोड ८० लाख रुपैयाँ कवुल समेत भएको छ।

पछिल्लो समयमा हेफर इन्टरनेशनल नेपालले यस विषयमा सहजीकरण गरिरहेको छ। ‘पशु उत्पादक किसान, सरकार, व्यवसायीहरु र साझेदारी निकाय बीचमा सहकार्य गरी एउटा पब्लिक कम्पनी निर्माण गरेर बधशाला सञ्चालन गर्ने तयारी गरिरहेका छौं’, हेफर नेपालका कार्यक्रम निर्देशक डा.तीर्थ रेग्मीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .