ad ad

समाज


धनुषा विस्फोटः चन्दा नदिएपछि विप्लव समूहले घरमा बम राखेको प्रहरीको भनाइ

धनुषा विस्फोटः चन्दा नदिएपछि विप्लव समूहले  घरमा बम राखेको प्रहरीको भनाइ

नारायण ढुंगाना
मंसिर २८, २०७६ शनिबार १२:१३,

तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए। उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।

‘व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, प्रहरी नायब उपरीक्षक कार्कीले भने।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो। स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ।

विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन्। डीएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विस्फोट भएको जानकारी दिए।

स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विस्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए। प्रनाउ कार्कीले भने, ‘घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्को पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ।’

उनले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विस्फोट भएको जिकिर गर्दै भने, ‘प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिए। उनले भने, ‘प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विस्फोट गराइएको छ।’ उनले विस्फोट हुनुअघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताए। उनले पनि प्रहरीले पोको नछोएको जिकिर गरे।

शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसकेको बताए। यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो।

विष्फोटमा तीन जनाको मृत्यु भएको थियो। सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो। उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए। सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो।

गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विस्फोट गराएको थियो। विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए। उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन्।

विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो। त्यसपछि प्रहरीले विप्लव समूहका सयौँ नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .