ad ad

समाज


लेन मिच्दै आएको सांसदको गाडीले ठक्कर दिँदा गम्भीर घाइते

लेन मिच्दै आएको सांसदको गाडीले ठक्कर दिँदा गम्भीर घाइते

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १४:१,

सिंहदरबार पश्चिम मूल ढोकाअघि साेमबार संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं। प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ। घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं‍ को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं को स्कार्पियो गाडीले ठक्कर दिएको थियो। सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान आचार्यले जानकारी दिए।

गलत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको पृथ्वीनारायण शाहको शालिकमुनि खटिनुभएका ट्राफिक प्रहरी खीना सुवेदीले राससलाई बताए। हतारमा भएकाले बत्ती बालेर सवारी आएको उहाँले जानकारी दिए। लेन अनुशासन पालना नगरेमा रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो। गाडीको अगाडितिर सिसामा संघीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो।

सरकारी गाडीका चालक लेखमान शाक्यले नै घाइतेको उपचार गराइरहेको उनले बताइन्। संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए।

संवेदनशील स्थानमा समेत सरकारी गाडीले गलत दिशाबाट आएर ठक्कर दिनु सामान्य घटना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए। छानबिन गरी यसका दोषीलाई कानुनी कारबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चालक पनि सुरक्षित नहुने उनको भनाइ छ। प्रत्यक्षरूपमा घटना देख्नुभएका बजगाईँ सरकारी गाडीका चालकको लापरवाहीले यस्तो भएको बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .