ad ad

समाज


२५ जिल्ला अनुगमनका लागि जम्मा ३ निरीक्षक!

२५ जिल्ला अनुगमनका लागि जम्मा ३ निरीक्षक!

काशीराम शर्मा
मंसिर २२, २०७६ आइतबार ४:५१,

औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी रूपमा अनुगमन हुनसकेको छैन।

जनशक्ति अभावमा बजारमा कम गुणस्तर, म्याद सकिएका , विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ।

विभागको कार्यक्षेत्रअन्तर्गत तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला पर्छन्। तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै छन्। विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि छ।

बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो। त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै।

‘उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौं। कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौं। जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौं।’ औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने।

अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन। जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन्। गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन।

शाखामा मात्रै २५ जिल्लाका ४ हजार बढी औषधि बिक्रेता दर्ता छन्। गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन। ‘नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्,’ नरैनापुरका विनय दीक्षित भन्छन्,‘अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने?’

‘दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन,’ शाखा प्रमुख श्रेष्ठ भन्छन्, ‘तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन।’ मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै छ। विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा ४ कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यतासमेत छ।

‘विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौं,’ शाखा प्रमुख श्रेष्ठले भने। संघीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ। तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन्। बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन।

‘स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेसी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो।’ यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन्।

स्वघोषित चिकित्सक’ विरुद्ध मुद्दा
बाँकेको नरैनापुर–५ का एक स्वघोषित चिकित्सकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। चिकित्सकको उपचारकै कारण दुईको मृत्यु भएको आशंकापछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । यद्यपि, आरोपित चिकित्सक भने फरार छन्।

मंसिर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके प्रशासन र औषधि व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो।

त्यस क्रममा दुई औषधि पसलको औषधि नियन्त्रणमा लिएको र एउटा औषधि पसललाई बन्द गरिएको थियो। ‘अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न मिल्दैन,’ इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले भने, ‘मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .