ad ad

समाज


अछाम सदरमुकाममा निषेधाज्ञा जारी

अछाम सदरमुकाममा निषेधाज्ञा जारी

गोकुल जोशी
असार २१, २०७९ मंगलबार १४:३६, कञ्चनपुर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युको घटनाले सदरमुकाम मंगलसेन तनावग्रस्त भएपछि त्यहाँको प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै सदरमुकामका ६ ठाउँमा कुनै पनि विरोधका कार्यक्रम गर्न निषेध गरेको हो।

शाहीको मृत्यु घटनालाई लिएर कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीहरुलाई पटक पटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कार्य भएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। 

उनका अनुसार मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो।

निषेधित क्षेत्र तोकिएका यी ठाउँमा विरोधका कार्यक्रम गरेर निषेधाज्ञा उल्लंघन गरेको पाइएको कारबाही हुने प्रशासनले जनाएको छ।

गत जेठ १७ गते बेपत्ता भएका शाही जेठ २१ गते मृत भेटिएका थिए। घटना भएको एक महिना बितिसक्दा समेत दोषीलाई कारबाहीको दायरामा नल्याइएको भन्दै आक्रोशित पीडित परिवार र स्थानीयले सदरमुकाममा सोमबार विरोध जनाएका थिए।

त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडपमा केही आन्दोलनकारी र प्रहरी घाइते समेत भएका थिए।

शाही मृत्यु घटनामा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित १३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए। 

ती मध्ये मेयर चलाउने सहित ७ जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने अझै ६ जना फरार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .