सल्यानमा एक वडाध्यक्षले राजीनामा दिएर शिक्षण पेशा सुरु गरेका छन्।
सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकको जागीर सुरु गरेका हुन्।
०७४ को स्थानीयतहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटामा मुस्ताङबाट नाम निकालेर पढाउन थालेका हुन्।
तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले समान ३२१ मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए।
शिक्षक सेवा आयोगले लिएको लिखित र मौखिक परीक्षा उतीर्ण गरेपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा बसेर पठनपाठन सुरु गरेका हुन्।
‘वडाध्यक्षमा न त अधिकार छ, न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेँ’, बुढामगरले भने।
आगामी दिनमा राजनीतिमा नफर्किने उनले बताए। ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु,’ उनले भने।
उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका छन्। सोही दिन गाउँ कार्यपालिकाको बैठकले बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए।
प्रतिक्रिया