ललितपुर र मोरङमा तीन व्यवसायीको हत्या ९ दिनको फरकमा भएको खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सबैभन्दा पहिले ललितपुरमा मोहन लिम्बुको हत्या भएको खुलेको हो।
ललितपुरको गोदावरी नगरपालिका १२ धापाखेल बसपार्क नजिकै मंसिर २८ गते लिम्बुको हत्या भएको हो। तेह्रथुम घर भएका लिम्बुको हत्या भएको ७ दिनपछि सोही समूहका दुई जनाको पनि हत्या भएको खुलेको छ।
मोरङको उखुबारीमा ३० मिटरको फरकमा गाडिएको अवस्थामा भेटिएका दुई जनाको पनि फरक फरक समयमा हत्या भएको पाइएको छ।
‘हामीले पक्राउ गरेका व्यक्तिले पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको हो। मृतक तीनै जना व्यवसायी हुन्।
उनीहरु एउटै समूहमा घरजग्गाको कारोबार गर्थे। उनीहरुको हत्या आफ्नै समूहका व्यक्तिबाट भएको खुलेको छ।
हत्या अभियोगमा पक्राउ परेका सिरहाका अनिलकुमार मण्डल पनि उनीहरुकै समूहका व्यवसायी हुन्। उनले नै हत्याको योजना बनाएको खुलेको छ।
हत्याको अभियोगमा उनीसहित तीन जना पक्राउ परेका छन्। मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अरु २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरीले पक्राउ गरेका २ जनाले मण्डलकै योजनामा हत्या गरेको बताएका थिए। तीन दिनअघि नै मण्डललाई पक्राउ गरे पनि उनले हत्यामा संलग्नता स्वीकार गरेका थिएनन्।
हत्यामा केही भारतीयको पनि प्रयाेग गरिएकाे खुलेकाे छ। भारतीय भने फरार छन्।
बिहीबार बिहान उनलाई पनि मोरङ पठाइएको थियो। तीनै जनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्दा घटनाको थप रहस्य खुलेको हो।
मण्डलले बिहीबार साँझ हत्या गरेको स्वीकार गर्दै शव रहेको स्थान समेत बताइदिएका थिए। अहिले प्रहरीले लिम्बुको शव उत्खनन् गरिरहेको छ।
चौधरी र श्रेष्ठको शव भने माघ १३ गते उखुबारीमा फेला परेको थियो। अनुसन्धानका क्रममा लिम्बु समेत बेपत्ता भएको खुलेको थियो।
Shares
प्रतिक्रिया