गत बुधबार मोरङमा उखुबारीमा भेटिएका दुवै शवको सनाखत भएको छ। मृतक सप्तरीको शम्भुनाथ नगरपालिका ४ का शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका ३ का राजेन्द्रकुमार श्रेष्ठ भएको खुलेको हो।
श्रेष्ठको पहिल्यै सनाखत भए पनि चौधरीको परिवारले आइतबार सनाखत गरेका हुन्। पोस्टमार्टमपछि परिवारलाई शव बुझाएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो भने अनुसन्धानमा खटाइएको छैन। उनीहरुको हत्या केही दिन पहिल्यै भएको र घटनास्थल पनि अन्यत्रै भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
‘शव गलिसकेको अवस्थामा थिए, केही दिनपहिले नै हत्या भएको अनुमान छ। तर यसको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ डीएसपी श्रेष्ठले भने।
उनीहरुको डोरीले घाँटी कसेर हत्या गरिएको अनुमान मोरङ प्रहरीको छ। तर घटना कहाँ भयो भन्ने अझै खुल्न सकेको छैन।
‘आज बल्ल शवको सनाखत भयो, यसले अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाउन सहज भएको छ,’ मोरङका एसपी जनार्दन जिसीले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।’
श्रेष्ठको परिवारसँग भने लामो समयदेखि सम्पर्क नभएको देखिएको छ।
मृतक श्रेष्ठ ‘एकडेढ महिना आउँदैनौँ, त्यतिन्जेल नखोज्नू’ भन्दै घरबाट मंसिर २८ गते हिँडेको उनको परिवारले प्रहरीलाई बताएको छ। त्यसपछि कहाँ गए भन्ने पनि जानकारी नभएको परिवारको भनाइ छ।
श्रेष्ठ र चौधरी साथी भएको खुलेको छ। उनीहरु जग्गाको कारोबार गर्थे। झापामा जग्गा प्लटिङ गर्न भन्दै घरबाट हिँडेका थिए। तर कहाँ, कसको जग्गा भन्ने पनि खुलिसकेको छैन।
श्रेष्ठको मोबाइल प्रहरीले फेला पारिसकेको छ। त्यसका आधारमा पनि अहिले अनुसन्धान अगाडि बढाएको छ।
धनपालथान गाउँपालिका ७ स्थित दिलीपप्रसाद सिंहको उखुबारीमा उखु काट्न गएका किसानले भर्खरै खनिएको खाल्डो देखेका थिए। खाल्डो नजिकै रगत समेत देखिएपछि उनीहरुले दिलीप सिंहलाई खबर गरे। दिलीपले प्रहरीलाई खबर गरेको प्रहरीले बतायो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले खाल्डो खोतल्दा शव फेला परेको थियो। त्यस आसपास खोजी गर्ने क्रममा करिब २५ मिटर टाढा अर्को पनि त्यस्तै खाल्डो भेटिएको थियो। त्यहाँ अर्को शव फेला परेको थियो।
शव गाडेर गलाउनका लागि नुन पनि हालेको पाइएको छ। श्रेष्ठका कागजातका कारण शव पहिचान गर्न प्रहरीलाई सहयोग पुगेको हो।
पछि चौधरीका परिवार पनि सम्पर्कमा पुगे। उनीहरु दुवै जना काठमाडौंमै बस्थे। मंसिर २८ गते सँगै काठमाडौंबाट हिँडेको खुलेको छ। तर, त्यसपछि परिवारसँग भने सम्पर्कमा थिएनन्।
उनीहरु बेलाबेला यसैगरी लामो समयसम्म घरबाहिर जाने भएकाले खोजी नगरेको परिवारको भनाइ छ। तर, यस विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
Shares
प्रतिक्रिया