स्थानीय प्रशासनको आदेश अटेर गर्दा सुनसरीको बर्जु महोत्सवमा तोडफोड भएको छ।
गएको पुस २२ गतेबाट सञ्चालिन बर्जु महोत्सव कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको थियो। तर सो आदेश अटेर गरी आयोजकले मेलालाई निरन्तरता दिँदा क्षति व्यहोर्नु परेको हो।
मंगलबार सो महोत्सवमा आयोजकले भारतीय कलाकार खेसरीलाल यादवलाई बोलाएकोमा कारणबस उनी उपस्थित हुन नसकेपछि आक्रोशित भिडले तोडफोड र आगजनी गरेको थियो।
भिडले गरेको आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कार्पियो, १ सिटिसफारी, १ मोटरसाइकल र १ साइकलका साथै अन्दाजी एक हजार वटा प्लास्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम थान–२ र जेनेरेटर २ वटामा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यस्तै, ईलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नं. को स्कारपियो पिकअप गाडीमा क्षति पुगेको छ भने ईलाका प्रहरी कार्यालय दुहबीमा कार्यरत प्रहरी जवान ख्यामराज बिष्ट र अर्का प्रहरी मिना माझी सामान्य घाइते भएका छन्।
प्रहरीले भिड तितरबितर पार्न १५ सेल अश्रुग्यास फायर गरेको जनाएको छ।
हाल स्थिति नियन्त्रणमा आइसकेको पनि प्रहरीको भनाई छ।
Shares
प्रतिक्रिया