इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन सुरु हुने भएको छ। माघ ५ गते पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका हुन्। सरकारमार्फत् पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदारहरु जाने तय भएको छ।
सम्पूर्ण प्रक्रिया पुरा गरेर नेपालले उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले १ हजार १ सय ७५ जना श्रमिक छनोट गरेको थियो। तीमध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ। १ सय ४३ जनाको भने भिसाको प्रक्रिया पनि पुरा भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम् इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। श्रमिकसँग सम्झौता भइरहेको र सोमबार मात्रै थप ५० जनाको करार सम्झौता भएको छ।
इजरायल जानेको सूचीमा ८ सय २१ जना महिला र ३ सय ५४ जना पुरुष छन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको हो।
इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका १ देखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले आग्रह गरिसकेको छ। उनीहरुलाई मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न विभागले भनेको हो।
इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सम्पूर्ण खर्च आफैं तिर्नु पर्ने छ। उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो।
सहायक कामदारका रुपमा जाने नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन्।
इजरायलको वर्तमान तलप व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय १ हजार ६ सय अमेरिकी डलर) मासिक कमाइ हुनेछ।
म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएपछि सरकार आफैँले इजरायलमा श्रमिक पठाउने सम्झौता गरेको हो। सुरुमा १ हजार १ सय ७५ जना जाने तयारी भए पनि सरकारले थप श्रमिक पनि लैजान आग्रह गरिरहेको छ। इजरायलले सुरुमा सूचीमा भएका लगिसकेपछि अरु बारे निर्णय गर्ने बताउँदै आएको छ।
यो पनि:
Shares
प्रतिक्रिया