विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेल मानव साङ्लोले घेरिने भएको छ।
टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ले कात्तिक २३ गते यस्तो कार्यक्रम आयोजना गरेको हो।
‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको टुँडिखेल अतिक्रमण हुँदै गइरहेको प्रति अभियानले विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
टुँडिखेल क्षेत्रमा बसपार्क, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने काम भएकाले सचेतनाका लागि ‘अकुपाई टुँडिखेल’ अभियान चलाउनु परेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।
अभियानका संयोजक विजय श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको टुँडिखेल हामी सबैका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको अतिक्रमणले महत्वपूर्ण सम्पत्ति गुमाउने अवस्था आएकाले हामीले अभियान चलाएका हौँ।’
‘अकुपाई टुँडिखेल’ अभियान यही शनिबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
प्रतिक्रिया