आज मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार कांग्रेसको महाधिवेशन सुरक्षाका लागि नेपाल प्रहरीले ५ हजार जना खटाउने भएको छ। यस्तै विभिन्न उपकरण पनि प्रयोग गरिने एआईजी पालले नेपालखबरलाई जानकारी दिए।
एआईजी पालले कांग्रेस महाधिवेशनको सुरक्षा योजनाबारे काठमाडौंका प्रहरी प्रमुख, ट्राफिक, विमानस्थल, अपराध महाशाखा, काठमाडौंका सबै वृत्त र प्रभागका प्रमुखलाई बिहीबार महानगरीय प्रहरी कार्यालयमा बोलाएर ब्रिफिङ गरेका छन्।
‘हामीले सबै डिउटी मिलाइसकेका छौं, कार्यक्रमस्थल, बासस्थानदेखि आउने नाका र सडकमा पनि सुरक्षा व्यवस्था मिलाइएको छ’, एआईजी पालले भने, ‘चेकप्वाइन्टमा पनि चेकजाँचमा थप कडाइ गरिएको छ।’
महाधिवेशन सुरक्षाका लागि पुलिस क्लबमा कमान्ड सेन्टर बनाइएको छ। कमान्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित उपत्यकाका तीनवटै सुरक्षा निकायका जिल्लास्थित प्रमुख बसेर समन्वय गर्नेछन्।
महाधिवेशनको सम्पूर्ण सुरक्षा जिम्मा र कमान्ड उपत्यका प्रहरी प्रमुख एआईजी पालको नेतृत्वमा रहेनछन्।
महाधिवेशनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयबाट थप जनशक्ति मगाइएको छ। हेडक्वाटरबाट झन्डै हजार सुरक्षाकर्मी माग गरिएको छ। यस्तै महानगरीय प्रहरी कार्यालयका तीनवटा गणका टोली पनि सुरक्षामा परिचालन हुनेछन्। ट्राफिक र काठमाडौंका सबै वृत्तबाट पनि महाधिवेशनलाई केन्द्रित गरी सुरक्षामा खटाइने भएको छ।
महाधिवेशन प्रतिनिधिलाई राखिने होटलहरूको सुरक्षामा पनि विशेष ध्यान दिन प्रहरीको सुरक्षा ब्रिफिङका क्रममा निर्देशन दिइएको छ। कार्यक्रममा आवतजावतलाई सहज बनाउन ट्राफिक महाशाखाले योजना बनाएको छ।
यस्तै कार्यक्रम स्थलमा प्रवेश गर्ने स्थानमा वाक थ्रु गेट प्रयोग गरिने भएको छ। यस्तै शरीर चेक गर्न मेटल डिटेक्टरको पनि प्रयोग गरिनेछ। भीडभाड हुने कार्यक्रममा ड्रोनबाट पनि सुरक्षा निगरानी गरिनेछ।
यस्तै मतदान हुने स्थान, भीआईपीस्थल र कार्यक्रमका महत्त्वपूर्ण स्थानमा सीसीटीभी जडान गरिएको छ। सीसीटीभिबाट पनि सुरक्षा निगरानी गर्ने प्रहरीको तयारी छ।
यस्तै कार्यक्रम स्थलमा डग स्निफिङ पनि गरिनेछ। महाधिवेशन सुरक्षाका लागि सशस्त्र प्रहरी पनि खटिनेछन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार दिउँसो बजे भृकुटीमण्डपमा उद्घाटन हुँदै छ। नेतृत्व चयनका लागि चुनाव हुने निश्चित भएकाले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुलिस क्लबमा मतदान केन्द्र तय गरिएको छ।
Shares
प्रतिक्रिया