बारामा रहेको योगेश्वर अमात्यको १२ बिघा जग्गाको किर्ते धनीपुर्जामा कर्जा लगानी गर्दाका सबै कागजात प्रहरीले लगेको छ। कुमारी बैंकको न्युरोड शाखाले नक्कली धनीपुर्जा राखेर १९ करोड कर्जा लगानी गरेको थियो।
पछि अर्कै जग्गा राखेर बैंकले कर्जा सल्टाए पनि अमात्यले आफ्नो जग्गाको नक्कली पुर्जा बनाएर कर्जा लिएको चाल पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी दिएका थिए।
सीआईबीले यसअघि किर्तेमा मात्रै मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको भए पनि सरकारी वकिलको कार्यालयले बैंकिङ कसुरमा पनि अनुसन्धान गर्न निर्देशन दिएपछि बैंकका त्यससम्बन्धी सबै कागजात सीआईबीले झिकाएको हो।
‘बैंकिङ कसुरमा मुद्दा चलाउने भएपछि हामीले कर्जा लगानी गर्दाका सबै कागजात ल्याएर अनुसन्धान गरिरहेका छौँ,’ सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले भने।
यसअघि बैंकका वीरगन्ज शाखाका एक कर्मचारी पक्राउ परिसकेका छन्। अर्का एक जना फरार छन्। कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई पनि सीआईबीले दुई पटक बयान लिएको थियो।
बैंकको केन्द्रीय कार्यालयकै स्वीकृतिमा कर्जा लगानी गरेको पाइएपछि केन्द्रीय कार्यालय पनि अनुसन्धानमा तानिएको हो। न्युरोड शाखाबाट कर्जा लगानी भए पनि वीरगन्ज शाखाले उक्त जग्गा निरीक्षण गरेर स्वीकृति दिएको थियो।
वीरगन्ज शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर पक्राउ परिसकेका छन्। सोही शाखाका सहायक म्यानेजर राजेश साह फरार छन्।
नक्कली धनीपुर्जा भएको थाहा पाएपछि बैंकले एसकुमार र मुक्तिनाथको ललितपुरमा रहेको जग्गा धितो राखेको थियो। अहिले उनीहरुले बैंकको कर्जा चुक्ता गरिसकेका छन्।
पक्राउ परेका बैंकका कर्मचारी ठाकुरले कोरोनाका कारण फिल्डमा गएर जग्गा नहेरेको बताएका थिए।
मालपोत रोक्का, राजीनामा लिखत, लालपुर्जा र स्थानीय तहको चारकिल्ला प्रमाणित गरिएको कागजातको पन िजाँचबुझ गरेको थियो। ती कागजात पनि नक्कली पाइएको छ।
अमात्य दम्पती सञ्चालक रहेको बिलुवा भूमि वन नामक संस्थाको नाममा रहेको जग्गा भूमाफियाको गिरोहले एसकुमार महर्जन र मुक्तिनाथ गौतम सञ्चालक रहेको डेनियल टे«डिङ्सको नाममा ल्याएको कागजात तयार पारिएको थियो।
घटनामा संलग्न ५ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा नक्कली जग्गाधनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधान छन्।
उनीहरुमाथि म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। २ महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाउँछ।
यो पनि:
Shares
प्रतिक्रिया