ad ad

समाज


एमाले महाधिवेशन: २ एआईजीसहित २५ सय प्रहरी, ड्रोन र कुकुर पनि परिचालन

एमाले महाधिवेशन: २ एआईजीसहित २५ सय प्रहरी, ड्रोन र कुकुर पनि परिचालन

उजिर कार्की
मंसिर ९, २०७८ बिहिबार १९:३७, काठमाडौँ

शुक्रबारबाट सुरु हुने नेकपा एमालेको महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। चितवनको नारायणी किनारमा हुने महाधिवेशनलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ।

दुवै प्रहरीले अतिरिक्त महानिरीक्षकको नेतृत्वमा त्यहाँ सुरक्षाकर्मी परिचालन गरेका छन्। नेपाल प्रहरीका एआईजी सहकुल थापा महाधिवेशन सुरक्षाका लागि बिहीबार चितवन पुगेका छन्। त्यहाँ तीन जना डीआईजी पनि सुरक्षामा खटिनेछन्। 

बागमती, गण्डकी र लुम्बिनीका प्रहरी प्रमुख पनि बिहीबार नै चितवन पुगेका छन्। बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की, गण्डकी  प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र लुम्बिनीका प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश अधिकारीलाई पनि चितवनमा खटाइएको छ। तीन जना डीआईजी समेत खटाइने भएपछि समन्वय गर्न कार्य विभागका एआईजी सहकुल थापा त्यहाँ पुगेका हुन्।

महाधिवेशनमा प्रहरीले डग स्निफिङ र ड्रोनबाट पनि सुरक्षा निगरानी गरिने छ।

नेकपा एमालेको कार्यक्रम र सुरक्षा अवस्थालाई प्रहरीले तीन कारण संवेदनशील मानेको छ। संस्थापनभित्रै विभाजन, माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र र नेपाली कांग्रेसको पनि अधिवेशन चलिरहेकाले सुरक्षा व्यवस्थालाई चुनौतीका रुपमा हेरिएको छ। 

यसअघि केपी ओलीकै पक्षमा रहेका नेताहरुबीचको प्रतिस्पर्धाले पनि सुरक्षामा समस्या निम्त्याउन सक्ने प्रहरीको आकलन छ। अर्को कारण हो– चितवन प्रचण्डको निर्वाचन क्षेत्र। एमालेले महाधिवेशन त्यही क्षेत्रमा गर्नु भनेको एक हिसाबले शक्ति प्रदर्शन पनि भएको सुरक्षा निकायको बुझाइ छ। यसले पनि सुरक्षामा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहेको त्यहाँ खटिएका एक उच्च सुरक्षा अधिकारीले बताए। 

यस्तै नेपाली कांग्रेसको पनि महाधिवेशन प्रक्रिया चलिरहेको छ। चितवनको जिल्ला अधिवेशन ११ गते हुने तय भएको छ। जसका लागि चितवनका कांग्रेस कार्यकर्ता पनि त्यस क्षेत्रमा पुग्न थालेका छन्। एकै पटक दुई पार्टीका कार्यकर्ता भेट हुने भएपछि सतर्कता बढाइएको हो।

महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने अध्यक्ष ओलीले घोषणा गरेका छन्। जिल्ला सुरक्षा समितिले पनि त्यसैलाई आकलन गरेर तयारी गरिरहेको चितवनका एसपी ओम अधिकारीले बताए। 

महाधिवेशनको समयमा चितवनको बाटो भएर जाने लामो दुरीका सवारी साधनलाई निषेध गर्ने निर्णय समेत सुरक्षा समितिले गरेको छ। पश्चिमबाट आउने सवारीलाई नारायणी पुलपारि नै रोक्ने निर्णय भएको छ। 

कार्यक्रममा आउने सवारीका लागि ११ ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। हरेक सडकबाट आउने सवारीलाई कार्यक्रमस्थलभन्दा टाढै पार्किङको व्यवस्था गरिएको छ। साना र ठूला सवारी छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको एसपी अधिकारीले जानकारी दिए। कार्यक्रममा आउने सवारी व्यवस्थापनका लागि पनि ठूलो मात्रामा ट्राफिक प्रहरी चितवन पुगेका छन्। 

कार्यक्रम स्थल राजमार्गसँगै जोडिएकाले पनि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ। 

‘भोलि सहज हिसाबबाट सडक सञ्चालन हुने अवस्था देखिँदैन। मान्छे आएर दुःख पाउनुभन्दा सकेसम्म भोलि नआउनु राम्रो हुन्छ,’ चितवनका प्रहरी प्रमुख अधिकारीले भने, ‘हामीले त्यही अनुसारले आग्रह गरेका छौं।’

भोलि बिहान ९ बजे पहिले र बेलुका साढे ५ बजेपछि भने यातायात सञ्चालन सहज हुने प्रहरीले जनाएको छ। कार्यक्रमस्थलका कारण यातायात अवरुद्ध हुने भएपछि निश्चित क्षेत्रलाई निषेधित क्षेत्र समेत घोषणा गरिएको छ। यी क्षेत्रमा अत्यावश्यक सेवाका गाडी भने चलाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ। अरु गाडीलाई भने रोक्ने निर्णय सुरक्षा समितिले गरेको छ। 

नारायणी पुलपारिबाट आउने सवारी व्यवस्थापनमा भने थप चुनौती देखिएको छ। काठमाडौंबाट जाने सवारीहरु पनि आँपटारीबाट अगाडि प्रवेश गर्न पाउने छैनन्। पूर्वबाट आउनेलाई टिकौली जंगल नजिकै रोकिने छ। जंगलनजिकै चौरमा गाडी रोक्ने निर्णय भएको छ। पश्चिमबाट आउने सवारी नारायणी नदी पुलपारि नै रोकिने छन्। 

एमालेको दसौँ महाधिवेशनको उद्घाटन शुक्रबार हुँदैछ। महाधिवेशनका लागि केही दिनपहिलेबाटै एमाले कार्यकर्ता चितवन पुग्न थालेका थिए। एमाले विभाजनपछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चुन्ने छ। बन्द सत्र भने सौरहामा गर्ने तय भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .