मोरङ कारागारमा कैदीबन्दीबीच झडप भएको छ।
मंगलबार कारागारका नाइके, भाइनाइके र चौकिदारमाथि अन्य कैदीले आक्रमण गरेपछि झडप भएको हो।
झडपमा ६ जना घाइते भएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए। घाइते हुनेमा किरन गुरुङ, विशाल मोक्तान, डिल्ली देवान, निर्मल ढकाल, सूर्यदीप गुप्ता र शेखर राई रहेका छन्। उनीहरुको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
घाइते भएका सबै चौकीदार र नाइकेहरू हुन्। कारागारको आन्तरिक प्रशासनका नाइके र चौकीदारले आफूहरुमाथि अन्याय गरेको र यातना दिएको भन्दै अन्य कैदीले आक्रमण गरेको कारागार प्रशासनले जनाएको छ।
कारागारमा झडप भएपछि अहिले १४ जना कैदीबन्दीलाई बाहिर राखिएको छ। उनीहरुलाई अन्यत्र कारागार सार्न मोरङ कारागारले कारागार व्यवस्थापन विभागमा पत्र पठाएको छ। तर विभागले अहिलेसम्म उनीहरुलाई कहाँ सार्ने भन्ने निर्णय दिएको छैन।
किरन गुरुङ, विशाल मोक्तान, डिल्ली देवान, निर्मल ढकाल, सूर्यदीप गुप्ता, शेखर राई, एलेक्स नेपाली, रामबहादुर लिम्बु, रोशन दाहाल, कपिलकुमार साह, रमेश मण्डल, बबिहाङ राई, पदमकुमार लिम्बु र राजु राईलाई अन्य कारागारमा सार्न पत्रचार गरेको छ।
उनीहरु त्यहाँ रहे फेरि झडप हुन सक्ने भएकाले अन्य कारागार पठाउने तयारी भएको पोख्रेलले बताए।
मोरङ कारागारमा हाल ८९७ जना कैदीबन्दी छन्।
Shares
प्रतिक्रिया