ad ad

समाज


वर्षकै उत्कृष्ट कुकुर जम्बो:  जसले धमाधम हत्यारा समातिरहेको छ (भिडिओ)

वर्षकै उत्कृष्ट कुकुर जम्बो:  जसले धमाधम हत्यारा समातिरहेको छ (भिडिओ)

जम्बाे कुकुर । तस्बिर/भिडिओ : विक्रम राई


उजिर कार्की
कात्तिक १७, २०७८ बुधबार ९:३४, काठमाडौँ

गत वर्षको मंसिर २७ गते कपिलवस्तुको शिवराज नगरपालिका–५ की ५९ वर्षीया सुशीला खड्काको आफ्नै घरमा हत्या भयो। हत्यालगत्तै कपिलवस्तु प्रहरीलाई खबर पुग्यो। कपिलवस्तु प्रहरीले केनाइन शाखालाई बोलायो। स्थानीय प्रहरी तत्काल पुगेर घटनास्थल सुरक्षित गरे। 

रातको ३ बजे असई विष्णु पौडेल जम्बो नामक कुकुरलाई लिएर घटनास्थल पुगे। बिहान ६ बजेतिर जम्बोले अनुसन्धान सुरु ग¥यो। घटनास्थलमा इँटाका टुक्रा र लोहोरो फेला परेको थियो। त्यही सुँघाएर जम्बोलाई छाडियो। 

घटनास्थलमा मृतकका आफन्त र गाउँलेहरुको भीड थियो। सुँघ्दै गएको जम्बोले त्यही भीडबाट मृतकका भतिज २३ वर्षीय तोरणबहादुर खड्कालाई पक्राउ गर्यो। 

जम्बोले अपराधीको हातमा टोकेर ह्यान्डलरलाई संकेत गर्छ। 

‘त्यतिबेला पनि तोरणको हातमा तानेको थियो,’ ह्यान्डलर विष्णु भन्छन्, ‘त्यसपछि हामीले तोरणलाई प्रहरी कार्यालय लग्यौँ। उनले अपराध स्वीकार गरे।’

फुपूसँग पैसा मागेको र नदिएपछि हत्या गरेको बयान तोरणले दिए। उनी सोही घरमा बस्थे। हत्या गरेपछि आफैँले गाउँलेलाई फुपूको हत्या कसले गरेछ भन्दै खबर गरेका थिए। तर जम्बोले उनको कुकर्मको सहजै पर्दाफास गर्यो। 

२०७८ असोज १७ गते सल्यानको बाघचौर नगरपालिका–२ गौरीकी रामकला खत्रीको शव सडकमै फेला पर्यो। शवलाई सलले ढाकिएको थियो। त्यहाँ पनि जम्बोलाई नै लगिएको थियो। 

सल कसैले ढाकेको अनुमान प्रहरीको थियो। त्यही सल सुँघाएर जम्बोलाई छाडियो। जम्बो करिब २ किलोमिटर टाढासम्म पुग्यो। त्यहाँ एउटा जेसीबी रोकिएको थियो। जम्बोले त्यहीँ संकेत गर्यो। जेसीबीका चालक र सहचालक भने त्यहाँ थिएनन्। 

पछि प्रहरीले उनीहरुलाई पक्राउ गर्यो। उनीहरुले नै हत्या गरेको खुल्यो।

गत साउन ११ गते रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्रीको हत्या भयो। त्यहाँ पनि जम्बोलाई नै परिचालन गरिएको थियो। 

मनकलाको हत्यामा १३ वर्षका बालकलाई प्रयोग गरिएको रहेछ। उनको घरसम्म पुगेर जम्बोले संकेत गर्यो। 

प्रहरी तिनै बालकलाई प्रक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले हत्या गरेको पुष्टि भएको केनाइन शाखा कोहलपुरका प्रहरी निरीक्षक वासुदेव सुवेदी बताउँछन्। 

उही जम्बो यस वर्षको अनुसन्धानमा उत्कृष्ट कुकुर बन्न सफल भएको छ। हरेक वर्ष कुकुर तिहारका दिन वर्षको उत्कृष्ट कुकुर घोषणा हुन्छ। 

यसले डेढ वर्षदेखि कोहलपुरस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा प्रहरीलाई मद्दत गरिरहेको छ। जसको सहारामा प्रहरी सहजै अपराधीसम्म पुग्न सफल भएको छ। जम्बो जर्मन सेफर्ड जातको हो। 

जम्बोले उल्लिखित तीन घटनामा मात्रै होइन पश्चिम नेपालका अरु हत्यासम्बन्धी घटनामा पनि सफलता दिलाएको सुवेदीले बताए।  

जम्बोलाई केनाइन महाशाखाले तीन वर्षपहिले काठमाडौंमै खरिद गरेको हो। तालिम दिएपछि डेढ वर्षपहिले यसलाई कोहलपुर शाखामा लगिएको हो। त्यस क्षेत्रका धेरै जिल्लामा पुगेर जम्बोले अनुसन्धानमा सहयोग पुर्याएको छ।

कर्णाली र लुम्बिनी प्रदेशमा जम्बोसँगै तुफानले पनि काम गर्छ। आपराधिक घटना हुनासाथ केनाइन शाखामा खबर आउँछ। अनि घटनाको प्रकृतिअनुसार कुकुर पठाइन्छ। 

सुनसरीको बराह क्षेत्र नगरपालिका १ कटहरेकी १२ वर्षीया मीना राईका हत्यारा, लमजुङकी ३५ वर्षीया धनमाया भुजेलका हत्यारा र बैतडीकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन पनि कुकुरले सहयोग गरेको प्रहरी अधिकारीहरु बताउँछन्। 

कतिपय यस्ता घटना छन्, जुन प्रहरीले कुकुरको सहायताले सहजै पत्ता लगाउन सकेको छ। 

आजकाल घटनालगत्तै प्रहरीले सबैभन्दा पहिले कुकुरमार्फत नै अनुसन्धान गर्छ। कुकुरले पत्ता लगाउन नसके मात्रै अरु विधि प्रयोग गरिन्छ। घटनास्थल पुगिसकेपछि प्रहरीले घटनास्थल सुरक्षित गर्छ। 

डगस्निफिङ नगरेसम्म अन्य प्रक्रिया सुरु हुँदैन। घटना भएलगत्तै डगस्निफिङ गर्न सकेमा अपराधी पत्ता लगाउने सम्भावना बढी हुने नेपाल प्रहरीको केनाइन महाशाखा प्रमुख एसएसपी देउती गुरुङ बताउँछिन्। 

प्रहरीसँग विभिन्न जातका ८७ वटा कुकुर छन्। जर्मन सेफर्ड ३६, बेल्जियन सेफर्ड १०, डच सेफर्ड १, ल्याब्राडोर २१, बिगल ५, क्रोकर स्पाइनियल १ र गोल्डेन रिट्रिभर १३ वटा छन्। 

उनीहरुलाई तालिम दिँदै कस्ता अपराधमा कुन कुकुरलाई प्रयोग गर्ने भन्ने छुट्याइन्छ। अपराधअनुसारका कुकुर छुट्टाछुट्टै हुन्छन्। ८७ वटा मध्ये १४ वटाले अपराध अनुसन्धानमा काम गर्छन्। हातहतियार तथा विस्फोटक पदार्थ खोजी एवं पहिचानसम्बन्धी काम गर्ने ३६ वटा छन्। लागुऔषधका २६ वटा, बेपत्ता खोजी तथा उद्धारमा ८ वटाले काम गरिरहेका छन्। ३ वटा तालिमरत छन्।

केनाइन महाशाखाअन्तर्गत देशका अरु १० ठाउँमा केनाइन शाखा छन्। त्यहाँबाट पनि अपराध अनुसन्धानमा कुकुर प्रयोग गरिन्छ। 

विमानस्थलमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउने ८ वटा कुकुर परिचालन गरिएको छ।  धरान, विराटनगर विमानस्थल, लालगढ, जनकपुर विमानस्थल, वीरगञ्ज, हेटौंडा, पोखरा, कोहलपुर र धनगढीमा पनि केनाइन शाखा सञ्चालनमा छन्। 

प्रहरीले तीनचार महिनाका कुकुर खरिद गर्छ। ६ महिना भएपछि आधारभूत तालिम दिन्छ। त्यही क्रममा उसको क्षमता हेरेर कुन विधामा प्रयोग गर्ने भन्ने छुट्याइन्छ। 

सबैभन्दा राम्रो सुँघ्न सक्नेलाई ट्र्याक्करको रुपमा प्रयोग गरिन्छ। सबैभन्दा लामो समय र गाह्रो तालिम पनि यही ट्र्याकरको हो। डेढ वर्षदेखि दुई वर्षको भएपछि फिल्डमा खटाउन योग्य हुने केनाइन महाशाखा प्रमुख एसएसपी गुरुङले बताइन्।

बेपत्ताको खोजी तथा उद्धारमा प्रयोग गरिने कुकुर तयार गर्न पनि समय लाग्छ। तर लागुऔषधका लागि भने आधारभूत तालिम सकिएको दुईतीन महिनामै फिल्डमा काम गर्न सक्ने हुन्छन्। 

तालिमका दौरान नै अपराधी पत्ता लगाइसकेपछि कसरी संकेत गर्ने भन्ने सिकाइन्छ। पछि त्यसैगरी संकेत गरिसकेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर थप अनुसन्धान गर्छ। 

अहिले जर्मन सेफर्डलाई बेल्जियन सेफर्डले रिप्लेस गरिरहेको छ। उनीहरु लामो समयसम्म ट्र्याक लिन सक्ने हुन्छन्। ती कुकुर कुनै बेलायत र कुनै अमेरिकाबाट खरिद गरिएको हो। 

देशका अरु शाखामा भने तालिम दिएर मात्रै पठाइन्छ। महाशाखामा मात्रै तालिम सञ्चालन हुन्छ। 

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .