दुई सातादेखि कपिलबस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ।
गत १८ असोजदेखि कृष्णनगर नगरपालिका ७, ८ र ९ मा झाडापखाला महामारीको रुपमा फैलिएको हो। झाडापखालाबाट अहिलेसम्म कृष्णनगरमा चारजनाले ज्यान गुमाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। झाडापखालाबाट तीन बालबालिकासहित चार जनाले ज्यान गुमाएका हुन्।
महामारीको रुपमा फैलिएको झाडापखालाबाट हालसम्म कृष्णनगरमा आठ सय ८५ जना बिरामी परेका छन्। उनीहरूमध्ये २५ जनाको शिवराज अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए।
स्वास्थ्य क्षेत्रका विज्ञले कृष्णनगर क्षेत्रमा ट्वाइलेटको ढल खानेपानीमा मिसिँदा गाउँमा झाडापखाला फैलिएको निष्कर्ष निकालेका छन्। त्यहाँ अझै पनि झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।
‘केन्द्र, प्रदेश र स्थानीय तहबाट खटिएका स्वास्थ्यकर्मीको टोलीको समन्वयमा प्रकोप नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ,’ पौडेलले भने।
Shares
प्रतिक्रिया