जनस्वास्थ्यविद्हरुले नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडासामु कोरोना नियन्त्रण गर्ने ठूलो अवसर रहेको बताएका छन्।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण दर घटेकाले यही अवसरलाई सदुपयोग गर्दै नियन्त्रणमा ल्याउने वातावरण बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन।
जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले यहीबेला जनस्वास्थ्यका मापदण्ड पालना गराई बढीभन्दा बढी खोप दिन सकिए कोरोना नियन्त्रणतर्फ जाने बताए।
‘अहिले संक्रमण दर घटेको छ। तर संक्रमणको जोखिमबाट मुक्त भएका छैनौं,’ वन्तले भने, ‘यहीबेला प्रभावकारी रुपमा कोरोनाविरुद्ध लागियो भने यसलाई परास्त गर्ने राम्रो अवसर हामीसँग छ।’
पछिल्लो एक महिनामा मात्रै नेपालमा ६० प्रतिशतले संक्रमण दर घटेको छ। भदौ पहिलो साता संक्रमितहरुको संख्या ४० हजार हाराहारी थियो।
हाल त्यो संख्या १५ हजारमा झरेको छ। दैनिक नयाँ संक्रमित समेत एक हजारबाट तल झरेको छ। शुक्रबार नेपालमा ७३४ जनामा मात्रै संक्रमण देखिएको थियो। निको हुनेको संख्या एकहजार ३३ थियो।
‘नेपालमा अहिलेको संख्यालाई अझै कम भन्न मिल्दैन। हामी क्रस रोडमा छौं,’ वन्तले भने, ‘एकातिर नियन्त्रणको अवसर नवनियुक्त मन्त्रीसँग छ। अर्कातिर लापरवाही भए फेरि विस्तार हुने जोखिम पनि त्यत्तिकै छ।’
त्यहीकारण दसैं तिहारजस्ता चाडपर्व नजिक हुँदा समेत जनस्वास्थ्य मापदण्डमा कम्प्रमाइज हुन नदिने कदम स्वास्थ्य मन्त्रालयले चाल्नुपर्ने उनले सुझाए। चाडपर्वमा हुने पारिवारिक, राजनीतिक, सामाजिक जमघट, भेटघाटमा स्वास्थ्य मापदण्ड पालना गराउने मन्त्रालय सक्रिय हुनुपर्ने वन्तले उल्लेख गरे।
अर्का जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले अहिले कोरोना उल्लेखनीय घटेकाले सन् २०२१ भित्र बालबालिकासहित सबै नेपालीलाई खोप लगाउने वातावरण नयाँ मन्त्रीले गर्नुपर्ने बताए।
‘अहिले संक्रमण उल्लेखनीय घटेको छ। यही बेला खोप अभियानलाई तीव्रता दिनसके नियन्त्रणमा ल्याउन सघाउ पुग्छ,’ दीक्षितले भने, ‘कम्तीमा २०२१ भित्र बालबालिकासहित सम्पूर्ण नेपालीलाई खोप लगाउने वातावरण मिलाउन सक्नुपर्छ।’
यस्तो छ तथ्यांक
मन्त्रालयका अनुसार शुक्रबारसम्म ३२ प्रतिशत नेपालीले पूर्ण मात्रा खोप लगाइसकेका छन्। पहिलो मात्रा खोप लगाउने ४० प्रतिशत छन्। हाल पहिलो मात्रा पूर्ण मात्रा ६९ लाख ६२ हजार र पहिलो मात्रा ८७ हजारले लगाएका छन्।
हालसम्म नेपालमा एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ। जसमध्ये कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा आइसकेको छ।
सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप सात महिनापछि शनिबार आइपुगेको छ।
यसबाहेक कोभ्याक्स सुविधाबाट अनुदानमा १० लाख, ४ लाख क्यानडाबाट २ लाख माल्दिभ्सबाट केही सातामै खोप आउने मन्त्रालयले जनाएको छ।
लामो समय विद्यालय बाहिर रहँदा लाखौँ विद्यार्थीको भविष्य प्रभावित भएकाले १८ वर्षमुनिलाई समेत खोप दिनुपर्नेमा जनस्वास्थ्यविद् वन्तले जोड दिए।
‘लामो समय विद्यार्थीहरु विद्यालयबाहिर रहेकाले कयौंको भविष्य प्रभावित भइसक्यो। किशोरकिशोरीका लागि खोप प्रभावकारी भइसकेको छ। त्यो ल्याउनुपर्छ,’ वन्तले भने, ‘खोप लगाएकाहरुबाट पनि कोरोना सर्ने जोखिम हुने हुँदा स्कुल, कलेजमा जनस्वास्थ्य मापदण्ड पालनामा चुक्नुहुन्न।’
सरकारले बालबालिकाका लागि मोर्डनाको ४० लाख र फाइजरको ६० लाख खोप किन्न विश्व बैंकबाट ऋण लिएर भुक्तानी गरिसकेको छ। जीटूजीबाट हुने खरिदको खोप मंसिरसम्म आउने स्वास्थ्य मन्त्रालयले बताएको छ। लगत्तै १८ वर्षमुनिकालाई खोप दिने तालिका छ।
जनस्वास्थ्यविद् दीक्षितले कोरोना जस्ता महामारीसँग जुध्न अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल (सीडीसी) जस्तो स्वायत्त संस्थाको संरचना निर्माणमा नवनियुक्त मन्त्रीले पहल गर्नुपर्नेमा जोड दिए। भारतसँग समन्वय हुने गरि सीडीसीको स्थापना हुनुपर्ने उनी बताउँछन्।
मन्त्रीका कुरा
शुक्रबार नै पदभार ग्रहण गरेका नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडाले पनि कोरोना भाइरस रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताएका छन्।
‘जनतामा विश्वास जाग्ने गरी काम गर्नेछु। सरकार र प्रधानमन्त्रीको इच्छा र कोरोनालाई नियन्त्रणमा ल्याउनुपर्ने छ। त्यसको नियन्त्रणमा केन्द्रीत हुनेछु,’ पदभार ग्रहणपछि खतिवडाले भने, ‘केही महिनामा नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा नतिजामुखी ढंगले लाग्नेछौँ।’
मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रका समस्यालाई समाधान गर्दै जनताले सहज रूपमा सेवा लिन पाउने वातावरण उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन्।
Shares
प्रतिक्रिया