महोत्तरीको भ्रमरपुरा नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुर हत्या प्रकरणमा उनका बुबाको पनि संलग्नता रहेको खुलेको छ। हत्या आरोपमा सुजिताका बुबा पिपरा गाउँपालिका–६ का ५० वर्षीय कामेश्वर पाण्डेसहित तीनजनालाई महोत्तरी प्रहरीले पुनः पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हत्या घटनाको जानकारी लुकाउने आरोपमा रुपेशकी दिदी अर्थात सुजिताकी नन्द महोत्तरीको भंगहा नगरपालिका १ कविलासाकी ३५ वर्षीया अन्जु ठाकुर र लास लुकाउनेमा संलग्न रहेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ कुटिपोखरी बसहैया बस्ने ५५ वर्षीय प्रमोद मण्डल भन्ने बिनोद मण्डल छन्।
तीनैजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। छोरी सुजितालाई हत्या गर्न देवर रुपेश ठाकुरलाई दबाब दिएको र पछि घटना लुकाउन बार्गेनिङ गरेको तथ्य खुलेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।
घटनामा सुजिताकी नन्द अन्जुले जेठ २० गते विहान देवर रुपेशले सुजिताको हत्या गरेपछि उनले तत्कालै सो विषयमा भाइले जानकारी गराएको तर, कहिँकतै जानकारी नगराइ घटना लुकाउनमा सहयोग गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै पक्राउ परेका विनोद मण्डल हत्या गरी खेतमा गडिएको शवलाई त्यहाँबाट शौचालयको सेफ्टी ट्यांकीमा ल्याएर लुकाउन संलग्न रहेको डिएसपी विष्टले बताए।
जेठ २० गते विहान देवर रुपेशबाट हत्या गरेको सुजिताको शवको शव असार २७ गते घरभन्दा ५ सय मिटर पर चिरान मिलको छेउमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो। त्यसअघि असार १४ गते घरभन्दा एक किलोमिटर पर आफ्नै खेतमा गाडेको ठाउँमा सुजिताको शवको अवशेष फेला परेको थियो।
सुजिता हत्यामा संलग्न र शव लुकाउन संलग्न भएको आरोपमा यसअघि नै प्रहरीले देवर रुपेशसहित चार जनालाई पक्राउ गरी असार २९ गते सार्वजनिक गरको थियो।
अन्य पक्राउ पर्नेमा शव लुकाउनमा सघाउनेहरू स्थानीय रामचन्द्र मण्डलका छोरा वर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा वर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा वर्ष ३२ का नथुनि मण्डल रहेका छन्।
यो पनिः सुजिता हत्याका मुख्य नाइके देवर रुपेश, शव लुकाउन अन्य तीन जनाको सहयोग
Shares
प्रतिक्रिया