त्यसका लागि चीनको अन्तरिक्ष संस्थाले तीन अन्तरिक्षयात्रीको छनौट गरेको छ। चाइना म्यान्ड स्पेस एजेन्सी सीएमएसएले आफूहरुले अनुभवी अन्तरिक्षयात्रीलाई छनौट गरेको बुधबार जानकारी दिएको हो।
नी हाइसेङ, लिउ बोमिङ र ताङ होङ्बो यी तीन अन्तरिक्षयात्री बिहीबार अन्तरिक्ष केन्द्रतर्फ प्रस्थान गर्नेछन्।
उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने ‘स्पेसवाक’ निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।
तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो।
जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिने लङ मार्च–२ एफ वाई १२ रकेटबाट उनीहरु अन्तरिक्ष केन्द्र जानेछन्।
चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ। हाल तियान्हेको वजन करिब ७० टन छ। चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ।
हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन्।
यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन।
जसका कारण चीनले आफैंले अन्तरिक्ष केन्द्र बनाइरहेको हो। सिन्ह्वा र एससीएमपीको सहयोगमा
प्रतिक्रिया