प्रविधिको क्षेत्रमा विकास हुँदै गएका च्याटजीपीटी जस्ता एआईले संसारभर ३० करोडभन्दा बढी मानिसको पूर्णकालीन जागिर संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ।
गोल्डम्यान साक्स अर्थशास्त्रीले गरेको अध्ययनले एआईको नयाँ लहरले विश्वभर ३० करोड पूर्णकालीन काम स्वचालित रूपमा हुने र सोही बराबर जागिर संकटमा पर्न सक्ने जनाएको सीएनएनले लेखेको छ।
आइतबार गोल्डम्यान साक्स अर्थशास्त्रीले सार्जजनिक गरेको प्रतिवेदनअनुसार संसारभरका १८ प्रतिशत काम कम्पुटरमार्फत हुने भनिएको छ, यसको प्रभाव वर्तमान उदयमान बजारका लागि थप उन्नत अर्थतन्त्रका रूपमा हुनेछ।
एआईको प्रभाव निर्माण र मर्मत क्षेत्रमा भौतिक रूपमा काम गर्ने मजदुरमा पनि सामान्य पर्नसक्छ तर कार्यालयमा काम गर्ने कामदार र कानून व्यवसायीहरूका लागि यो बढी जोखिमपूर्ण हुने देखिन्छ।
संयुक्त राज्य अमेरिका र यूरोपमा दुई तिहाइ काम एआईबाट स्वचालित रूपमा हुने अनुमान उक्त प्रक्क्षेपणले देखाएको छ।
च्याटजीपीटीले दाबा गरेअनुसारका काम गरेमा श्रम बजारले महत्वपूर्ण अवरोधको सामना गर्नुपर्ने हुनसक्ने अर्थशास्त्रीले बताएका छन्।
अहिले सञ्चार प्रविधिको क्षेत्रमा च्याटजीपीटी नामक एप्लिकेसनले ठूलो तहल्का मच्चाइरहेको छ। यसले सञ्चार प्रविधिमा ठूलो फड्को मार्ने अनुमान गरिएको छ।
च्याटजीपीटीले अहिले विभिन्न सवालको जवाफ दिने र निवन्ध तथा कविता लेख्ने जस्ता रचनात्मक कामका साथ धेरै व्यवसायमा पुनर्विचारका लागि सोच्ने सुझवा दिने गरेको छ।
यसै महिना यसको निर्माता कम्पनीले जीपीटी-४ पनि सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई कोर्डिङ, स्केचमार्फत वेबसाइट निर्माणमा सहयोग गर्ने जस्ता सुविधा दिइरहेको छ।
आगामी दिनमा एआईले काममा मानवीय स्रोत घटाउनसक्ने साक्स अर्थशास्त्रीले लेखेका छन्। तर प्रविधिको विकासले तत्काल कामदारलाई केही घाटा भए पनि दीर्गकालीन रूपमा रोजगारी वृद्धि गर्ने टिप्पणी उनीहरूको छ।
कार्यस्थलहरू बदलिन सक्छन्, तर १० वर्षको अवधिमा वार्षिक ७ प्रतिशतले जीडीपी बढाउन सक्ने अनुमान अर्थशास्त्रीले गरेका छन्।
Shares
प्रतिक्रिया