कयौँ पत्रकारहरुको खाता बन्द गरिदिएको भोलिपल्टै ट्विटरका मालिक इलोन मस्क पछि हटेका छन्।
बिहीबार न्युयोर्क टाइम्सका रायन म्याक, वासिङ्टन पोस्टका ड्रु हार्वेल र सीएनएनका डनी ओसलिभानलाई उनले ट्विटरबाट निलम्बन गरेका थिए। ती पत्रकारले मानिसहरु रहेको स्थान खुलासा गरेको उनको आरोप थियो।
ती पत्रकारहरुले लामो समयदेखि प्रविधि क्षेत्रमा रिपोर्टिङ गर्दै आएका छन्।
तर, मस्कको व्यापक विरोध भएपछि उनले ट्विटरमा उनीहरुको निलम्बन फुकुवा गर्ने कि नगर्ने भनेर दुई वटा पोल गरेका थिए। अधिकतरले तत्काल उनीहरुमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका थिए।
त्यसपछि उनले जनताको फैसला भन्दै उनीहरुको खाता फिर्ता गरेका छन्।
टेस्लाजस्ता ठुल्ठूला कम्पनी हाँकिरहेका मस्कले पछिल्लो समय ट्विटरमा अत्यधिक समय बिताइरहेका छन्। वाक् स्वतन्त्रताको नाममा यसअघि प्रतिबन्धमा परेकाहरुलाई ट्विटरमा फिर्ता ल्याएका उनले पत्रकारहरुलाई प्रतिबन्ध लगाएपछि अधिकांशले अचम्म मानेका छन्। उनले आफ्नो विरोध गर्नेहरुलाई निसानामा पारेको कतिपयको आरोप छ।
उनले अप्रत्याशित खालको व्यवहार देखाएका कारण उनको व्यवसायमा समेत धक्का पुग्न थालेको छ। विश्वका सबैभन्दा धनी उनी अहिले दोस्रो स्थानमा झरेका छन्।
केहीले भने महत्वपूर्ण बहसको चौतारी अर्बपतिको हातमा पर्नु कति खतरनाक छ भन्ने कुरा मस्कको व्यवहारले देखाएको तर्क गरेका छन्।
Shares
प्रतिक्रिया