ट्वीटरका मालिक इलोन मस्क ट्वीटरको सीईओ बन्ने भएका छन्। ब्लूमवर्गका अनुसार मस्कले ट्वीटरसँगको सम्झौता पूरा गरेसँगै आफैं सीईओ बन्ने तयारी गरेका हुन्। टेस्ला र स्पेसएक्सको नेतृत्व सम्हालिसकेका मस्कले अब ट्वीटरको पनि जिम्मेवारी सम्हाल्न लागेका हुन्।
ट्वीटरको आन्तरिक स्रोतका अनुसार मस्क कम्पनीको सीईओमा प्रयाग अग्रवालको स्थान लिन चाहन्छन्। मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता पूरा भएसँगै अग्रवालसहित शीर्ष कर्मचारीलाई बर्खास्त गरेका थिए।
मस्क अहिलेको लागि अन्तरिम सीईओ बने पनि उनले आगामी दिनमा दीर्घकालसम्मका लागि नेतृत्व कसैलाई सुम्पिन सक्ने समाचारमा उल्लेख छ। यस विषयमा ट्वीटरका प्रतिनिधिले भने कुनै जानकारी दिएका छैनन्।
त्यसका साथै मस्कले ट्वीटरले यसअघि प्रयोगकर्तामाथि लगाएको जीवनभरको प्रतिबन्ध पनि फुकुवा गर्ने समाचारमा उल्लेख छ। यसरी प्रतिबन्ध फुकुवा हुनेमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्नेछन्।
सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसाबारेको अभिव्यक्तिलाई लिएर ट्वीटरले ट्रम्पमाथि जीवनभरको प्रतिबन्ध लगाएको थियो।
Shares
प्रतिक्रिया