इलोन मस्कले युक्रेनका जनताले स्टारलिंक इन्टरनेट सेवा प्रयोग गरिरहने कुरा सुनिश्चित गर्ने बताएका छन्। यद्यपि यसअघि उनले युक्रेनमा अनिश्चितकालसम्मको लागि निःशुल्क इन्टरनेट प्रदान गर्न नसकिने भन्दै रकम फिर्ता गर्ने संकेत गरेका थिए।
स्याटेलाइटमा आधारित यो इन्टरनेट प्रणाली युक्रेनी सेना र सरकारको लागि अहिले एक महत्त्वपूर्ण उपकरण भएको छ।
स्टारलिंक के हो र यसले कसरी काम गर्छ?
स्टारलिंकले स्याटेलाइटहरुको ठूलो नेटवर्कको मद्दतले इन्टरनेट सेवा प्रदान गर्छ। यो दुर्गम क्षेत्रमा बस्ने र छिटो इन्टरनेट चाहिने मानिसलाई ध्यानमा राखेर बनाइएको हो।
यी स्याटेलाइटलाई वायुमण्डलको तल्लो कक्षामा राखिएको छ। जसको उद्देश्य पृथ्वीसँग छिटो जडान स्थापित गर्न सकियोस् र राम्रो गति उपलब्ध गराउनु हो।
सन् २०१८ देखि स्टारलिङ्कले ३ हजार स्याटेलाइट अन्तरिक्षमा पठाएको छ। टेक्नोलोजी वेबसाइट पकेटलिन्टका सम्पादकीय निर्देशक क्रिस हल बताउँछन्, ‘पहाड र मरुभूमि जस्ता दुर्गम क्षेत्रमा स्याटेलाइटको प्रयोगले इन्टरनेट प्रदान गर्न सम्बन्धित समस्या हटाउँछ। यसको प्रयोगले केबल र मास्ट जस्ता ठूला स्तरका पूर्वाधारको आवश्यकतालाई हटाउँछ।’
स्टारलिंकले युक्रेनलाई कसरी मद्दत गरिरहेको छ?
रुसले आक्रमण गरेको केही दिनपछि इलोन मस्कले युक्रेनमा स्टारलिङ्कको सेवा सुरु गरेपछि रुसले त्यहाँ इन्टरनेट र मोबाइल सेवा बन्द गरेको थियो। मस्कका अनुसार २० हजार सेट डिश रिसिभर र राउटर युक्रेन पठाइएको छ।
युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभका अनुसार स्टारलिंकले धेरै महत्त्वपूर्ण सेवा पुनः सुरु गर्न ठूलो सहयोग गरेको छ।
उनले ट्वीटमा लेखेका छन्, ‘सयभन्दा बढी क्रुज मिसाइलले सञ्चार र ऊर्जा पूर्वाधारलाई नष्ट गर्यो। तर स्टारलिङ्कले सबै सुविधा चाँडै फिर्ता गर्न मद्दत गर्यो।’
युक्रेनले पनि युद्धको मैदानमा स्टारलिंकको प्रयोग गरिरहेको छ।
किंग्स कलेज लन्डनका डिफेन्स स्टडीजका अन्वेषक डा. मारिना मिरोनका अनुसार, ‘युक्रेनी सेनाले स्टारलिंकको इन्टरनेटलाई मुख्यालय र सैनिक बीचको सम्पर्कको लागि प्रयोग गरिरहेको छ।’
उनी भन्छिन्, ‘अन्य रेडियो सिग्नलहरू जस्तै, यी सिग्नलहरू जाम गर्न सकिँदैन र किट सेटअप गर्न १५ मिनेट मात्र लाग्छ।’
मस्कले किन दिए स्टारलिंकको सेवा बन्द गर्ने धम्की?
अक्टोबरको सुरुमा, इलोन मस्कले युक्रेनले क्रिमिया रूसलाई दिएको र रूसी सेनालाई उनीहरूले कब्जा गरेको क्षेत्रमा जनमत संग्रहको अनुमति दिएको संकेत गरे। त्यसपछि युक्रेनी राजदूतले यसको विरोध गर्दै मस्कलाई यस विषयमा मौन रहन सुझाव दिए।
त्यसको जवाफमा मस्कले स्टारलिंकले ८ करोड डलर युक्रेनको लागि खर्च गरेको र यसका लागि आफूले पैसा खर्च नगर्ने र यसको खर्च अमेरिकी सरकारले बेहोर्नुपर्ने बताए।
यद्यपि, त्यसपछि उनले पुनः ट्वीट गर्दै भने, ‘स्टारलिंकले पैसा गुमाउँदै छ र अन्य कम्पनीले लाखौं करदाता डलर प्राप्त गर्दै छ, तर हामी युक्रेनी सरकारलाई कोष जारी राख्नेछौं।’
स्टारलिंकको प्रयोग विश्वको अन्य कुन स्थानमा हुन सक्छ?
स्टारलिङ्कले हाल विश्वका ४० देशमा घर तथा कम्पनीलाई सेवा दिइरहेको छ। यसमा अमेरिका, युरोप र अष्ट्रेलियाका देश पर्छन्। तर यो सामान्य इन्टरनेटको तुलनामा धेरै सस्तो छैन।
एउटा डिश र राउटरको लागत ५९९ अमेरिकी डलर र एक महिनाको शुल्क लगभग ११० डलर छ। स्टारलिंकका अनुसार हालसम्म उसका ७ लाख सब्सक्राइबर छन्। लन्डन इन्स्टिच्युट अफ स्पेस पा‘लिसी एन्ड लका प्रोफेसर सइद मोतेसर भन्छन्, ‘धेरै विकसित देशमा पहिले नै उच्च–गतिको इन्टरनेट छ। स्टारलिङ्कको बजार एकदमै सानो छ।’
अर्को वर्ष, स्टारलिंकले अफ्रिका र दक्षिण अमेरिकाका साथै एशियाका दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने योजना बनाएको छ।
तर क्रिस भन्छन्, ‘स्टारलिङ्कहरु अफ्रिकाका लागि धेरै महँगो छन्। तर यसले ग्रामीण विद्यालय र अस्पताललाई ठूलो मद्दत गर्नेछ।’
स्टारलिंकको स्याटेलाइटले अन्तरिक्ष भरिन लागेको हो?
स्टारलिंक लो अर्बिट स्याटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने एक मात्र सेवा प्रदायक होइन। अमेजनले पनि आफ्नो हजारौं क्युपर स्याटेलाइट प्रक्षेपण गर्दै छ, वानवेबले पनि आफ्नो स्याटेलाइट पठाउँदै छ। कम उचाइमा धेरै स्याटेलाइट प्रक्षेपण गर्दा समस्या आउन सक्ने मोतेसर बताउँछन्।
उनी भन्छन्, ‘उच्च गतिको स्याटेलाइट अन्य वस्तुसँग ठोक्किन सक्छन् र तिनीहरूको टुक्रा छरपस्ट हुन सक्छ।’
हालैका दिनमा, स्टारलिंक स्याटेलाइट अन्य चीजसँग ठोक्किनबाट बचेको छ। जसमा चीनको अन्तरिक्ष स्टेसन पनि समावेश छ। युनिभर्सिटी अफ पोर्ट्समुथका डा. लुसिन्डा किंग भन्छिन्, ‘यदि यो भग्नावशेष धेरै मात्रामा फैलियो भने तल्लो कक्ष भविष्यमा प्रयोग गर्न सकिने छैन।’
स्टारलिंक स्याटेलाइट पनि अन्तरिक्ष यात्रीको लागि समस्या बनेको छ। तिनीहरू सूर्योदय र सूर्यास्तमा नाङ्गो आँखाले देख्न सकिन्छ किनभने तिनीहरूमा सूर्यको चमक हुन्छ। जसका कारण टेलिस्कोपबाट खिचिएका तस्बिर फरक देखिन्छन्। स्टारलिंकले आफूहरु स्याटेलाइटको चमक कम गर्ने प्रयास गरिरहेको बताउँदै आएको छ। बीबीसीबाट
Shares
प्रतिक्रिया