गत साता अष्ट्रेलियाको दूरसञ्चार कम्पनी अप्टसले करिब एक करोड मानिसको ग्राहकको विवरण साइबर आक्रमणको माध्यमबाट चोरी भएको बताएको थियो।
यो अष्ट्रेलियाको करिब ४० प्रतिशत जनसंख्या हो। केही विशेषज्ञले यसलाई अष्ट्रेलियाको इतिहासकै सबैभन्दा खराब विवरण चुहावटको घटना भएको बताएका छन्।
उक्त घटनायता अष्ट्रेलियामा केही महत्वपूर्ण घटनाक्रम विकसित भएका छन्। जसमा केही फिरौती रकमको धम्कीलगायतका घटना भएका छन्।
जसको कारण मानिसहरुमा त्रास फैलिएको छ। त्यस्तै सरकारले राम्रोसँग मानिसहरुको विवरणको सुरक्षा गर्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ।
अष्ट्रेलियाको दोस्रो ठूलो टेलिकम सेवा प्रदायकसमेत रहेको अप्टसले अहिलेका र पूर्व प्रयोगकर्ताको विवरण चोरी भएको र चोरी भएका विवरणमा उनीहरुको नाम, जन्ममिति, फोन नम्बर, इमेल एड्रेस, पासपोर्ट नम्बर र ड्राइभिङ लाइसेन्स नम्बर रहेको बताइएको छ। यद्यपि उनीहरुको भुक्तानीको विवरण र एकाउन्टको पासवर्ड भने चोरी नभएको कम्पनीले बताएको छ।
सरकारले पासपोर्ट वा लाइसेन्स लम्बर चोरी भएका मानिसहरु ठगीमा पर्ने सम्भावना धेरै रहेको बताएको छ। अप्टसले डेटा चोरीको विषयमा अनुसन्धान भइरहेको र प्रहरीलाई यसबारेमा जानकारी दिइएको बताएको छ।
अप्टसकी सीईओ केली बायरले विवरण चोरीको कारण कम्पनीलाई ठूलो नोक्सानी पुगेको बताएकी छिन्। उनले कम्पनीले आफ्ना ग्राहकको विवरण सुरक्षा गर्न नसकेकोमा दुःख पनि व्यक्त गरेकी छिन्।
शनिबार बिहान एक इन्टरनेट प्रयोगकर्ताले चोरी भएको विवरणको नमुना राख्दै अप्टससँग फिरौतीको लागि एक करोड अमेरिकी डलरबराबरको रकम माग गरेका थिए।
कम्पनीलाई उनले एक साताको समय दिएका थिए। अहिलेसम्म उनले सार्वजनिक गरेको विवरण सही छन् वा छैन भन्ने खुल्न सकेको छैन तर झट्ट हेर्दा सबै विवरण सही भएको बताइएको छ। कम्पनीले भने फिरौती बुझाइएको वा नबुझाइएको भन्ने विषयमा भने केही जानकारी दिएको छैन।
Shares
प्रतिक्रिया