अमेरिकी कम्पनी एप्पलले चार मोडलका आईफोन १४ सार्वजनिक गरेको छ।
एप्पलले आपतकालीन स्याटेलाइट कनेक्सन र कार दुर्घटना पहिचान गर्न सक्ने प्रविधिका साथमा आईफोन १४ सिरिज सार्वजनिक गरेको हो।
बुधबार कपर्टिनोस्थित मुख्यालयमा कम्पनीले आफ्नो आईफोन १४ सिरिज सार्वजनिक गरेको हो। त्यस्तै कम्पनीले नयाँ पुस्ताको एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको छ।
आईफोन १४ र आईफोन १४ प्लस
एप्पलले यस वर्ष आईफोन १४ लाई दुई फरक फरक मोडलमा ल्याउने भएको छ। कम्पनीले आईफोन १४ र आईफोन १४ प्लस गरी दुई साइजका आईफोन १४ ल्याउन लागेको हो।
नयाँ फोनमा स्याटेलाइटको माध्यमबाट इमर्जेन्सी कल गर्न सकिन्छ। साथै स्याटेलाइटको माध्यमबाट डिभाइस कुन स्थानमा छ भन्ने पनि थाहा पाउन सकिन्छ।
आईफोन १४ फाइभजी फोन हो। यो कालो, निलो, स्टारलाइट, बैजनी र रातो गरी पाँच रङमा उपलब्ध हुनेछ।
यसको ब्याट्री पहिलेभन्दा राम्रो छ। यी दुवै फोनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपाली आईफोनको मिनी संस्करण भने ल्याएको छैन।
यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्।
आईफोन १४ र आईफोन १४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ।
आईफोन १४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ। आईफोन १४ प्लसको भने ठूलो छ, ६.७ इन्चको छ।
आईफोन १४ प्लसमा अहिलेसम्मका सबै आईफोनको तुलनामा सबभन्दा राम्रो ब्याट्री भएको कम्पनीको दाबी छ। आईफोन १४ को मूल्य ७९९ डलर र आईफोन १४ प्लसको ८९९ डलर तोकिएको छ।
आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स
आईफोन १४ प्रो र प्रो म्याक्समा आईफोन १४ मा भएका फिचरसँगै अरू धेरै नयाँ फिचर छन्। यसको डिस्प्ले सधैं अन हुने गरी बनाइएको छ। नचलाउँदा पनि यो अफ हुँदैन।
तीनवटा क्यामेरा भएको यसमा अहिलेसम्मकै धेरै क्षमताको ४८ मेगापिक्सलको मुख्य क्यामेरा छ।
यो गाढा बैजनी, सिल्भर, गोल्ड र कालो गरी चार रङमा उपलब्ध छ। यसको चिपसेट आईफोन १४ र आईफोन १४ प्लसको भन्दा परिष्कृत छ।
आईफोन १४ प्रोको स्क्रिन ६.१ इन्च छ भने प्रो म्याक्सको ६.७ इन्च छ।
आईफोन १४ प्रोको मूल्य ९९९ डलर र प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ।
एप्पलले आईफोन १४ का साथै तीन मोडलको एप्पल वाच पनि सार्वजनिक गरेको छ। जसमा एप्पल वाच सिरिज ८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई रहेका छन्। एप्पलले नयाँ एप्पल वाचमा अत्याधुनिक फिचरहरु समावेश रहेको उल्लेख गरेको छ।
त्यस्तै कम्पनीले केही सुविधाहरु थप गरेर नयाँ एयरपड पनि सार्वजनिक गरेको छ। जसमा आवाज थप स्पष्ट सुनिने, एप्पल वाचले नै चार्ज गर्न सकिने लगायतका फिचर थपिएको छ।
Shares
प्रतिक्रिया