अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस १ मिसन दोस्रोपटक स्थगित भएको छ।
यससँगै यसको प्रक्षेपणको समय थप लम्बिएको छ। शनिबार रकेट प्रक्षेपण गर्ने प्रयास गरिएको थियो। तर, रकेटमा देखिएको इन्धन चुहावटको समस्याको कारण प्रक्षेपण रद्द गरिएको हो।
इन्जिनियरहरुले अब रकेटको परीक्षण गर्नेछन् र रकेटको मर्मत पनि अब लन्च प्याडको सट्टामा वर्कसपमा हुनेछ। यो समग्र प्रक्रियाको लागि अझै केही साता लाग्न सक्छ। यस्तोमा अक्टोबरको मध्यसम्ममा मात्र तेस्रोपटक रकेटको तेस्रोपटकको परीक्षणको प्रयास हुन सक्छ।
स्पेस लन्च सिस्टम (एसएलएस) नासाले अहिलेसम्म विकास गरेको सबैभन्दा शक्तिशाली रकेट हो।
यसलाई ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री र उपकरण पठाउन बनाइएको हो। यो रकेट प्रक्षेपणको लागि लन्च भेइकलको चार ठूलो इन्जिनमा ३० लाख लिटर अत्यधिक चिसो तरल हाइड्रोजन र अक्सिजनबाट उत्पन्न हुने ऊर्जा आवश्यक हुन्छ।
शनिबार रकेटमा हाइड्रोजन ट्यांक भर्ने कमाण्ड दिँदा इन्धन चुहावटको कारण अलार्म बज्न थालेको थियो। यो समस्या तत्कालै समाधानको प्रयास गरिए पनि त्यो सफल भने हुन सकेन।
यसअघि गत सोमबार पनि नासाले रकेट प्रक्षेपणको प्रयास गरेको थियो तर चार इन्जिनको तापमान सही नभएको कारण उक्त प्रक्षेपण रोकिएको थियो।
Shares
प्रतिक्रिया